जापानद्वारा दाङमा बर्थिङ सेन्टर निर्माण, राजदूत किकुताद्वारा हस्तान्तरण

घोराही : जापान सरकारले दाङको घोराही नगरपालिकामा बर्थिङ सेन्टर भवन निर्माण गरेको छ ।
जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)को अनुदान सहयोग अन्तर्गत नेपाल परिवार नियोजन संघ (एफप्यान) द्वारा सञ्चालित बालजन्म केन्द्र निर्माण र चिकित्सा उपकरण जडान गर्ने परियोजनालाई करिब एक करोड रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । भूकम्प प्रतिरोधी सुविधा सम्पन्न केन्द्रले सुरक्षित प्रसुति र उचित प्रसव पूर्व र पोस्ट नेटल हेरचाह र सेवाहरू प्रदान गरेर परिवार र समुदायलाई लाभ मिल्नेछ ।
नेपालका लागि जापानका राजदूत किकुता युताकाले शुक्रबार दाङ पुगेर प्रसुति भवन केन्द्र हस्तान्तरण गरेका थिए । राजदूत किकुताले बालबालिका नै देशको भविष्यको आशा रहेको बताउँदै उनीहरू र उनीहरूका आमाहरूको हेरचाह गर्नु समग्र समाजको लागि आवश्यक जिम्मेवारी रहेको बताए ।


उनले यस परियोजनाको नतिजाले नेपालमा बाल तथा मातृ स्वास्थ्य सेवाको विकास र दुई देशबीचको आदान प्रदानलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रसुति भवन निर्माणपछि आमा र बच्चा दुवैलाई सुविधा हुनेछ । यस्तो सहयोगले जापान र नेपालका जनताबीचको मित्रतालाई अझ प्रगाढ बनाउनेछ।’ सामुदायिक सामाजिक आर्थिक विकासका लागि तल्लो तहका मानिसहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित हुने परियोजनाहरू कार्यान्वयन गर्न जापानले जीजीपी स्थापना गरेको हो। नेपालमा सन् १९९१ देखि २०० भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेको दुतावासले जनाएको छ ।