नेपालगन्जबाट ३०० साइकल यात्री पुगे ठाकुरद्वारा

नेपालगन्ज : नेपालगन्ज साइकिलिङ क्लबले आयोजना गरेको टुर दी ठाकुरद्वारा पाँचौं संस्करणको साइकल यात्रीको टोेली शुक्रबार साँझ बर्दियाको पर्यटकीय नगरी ठाकुरद्वारा पुगेको छ । क्लबका अध्यक्ष सतिश निरौलाले शुक्रबार साँझ फेसबुकमा फोटो र स्टाटस लेख्दै झन्डै १०० किलोमिटरको रमाइलो साइकल यात्रा र भब्यताका साथ पुरा भएको उल्लेख गरेका छन् ।

साइकल यात्रीलाई बाँके र बर्दियाको नेपाल प्रहरी, निकुञ्ज क्षेत्रमा नेपाली सेना र यात्रा अवधिभर रक्षक सेक्युरिटीका सुरक्षाकर्मीर्ले स्कर्टिङ गरेको अध्यक्ष निरौलाले जनाएका छन् । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको साइकल यात्रीलाई बिहान नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राण, प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले विदाइ गरेका थिए ।

बागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा त्रिभुवन चोक, वीपी चोक, धम्बोझी चोकहुँदै खजुरा, बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिकाको सतखुलुवा ताल, बबर्ई नदी, भुरीगाउँ हुँदै साँझ ठाकुरद्वारा पुगेको हो । ठाकुरद्वारामा साइकल यात्रीले जंगल सफारी, हात्ती सफारी गर्ने कार्यक्रम छ । साइकल यात्रामा भारतबाट २९ सहित ३०० जनाको सहभागिता रहेको छ ।