राप्तीपारी टेलिकमका टावर थप्न मन्त्री नमूनाद्वारा पहल

नेपालगन्ज : बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमका टावरहरु राख्न लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमूनाले पहल थालेकी छन् ।
मन्त्री नमूनाले बिहीबार नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवामा पुगेर निमित्त कार्यालय प्रमुख शिव खनाल लगायतका विभिन्न शाखाका प्रमुखहरुसँग राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा टावरहरुको स्तरोन्नति र नयाँ टावरहरु राख्नेबारे छलफल गरेकी हुन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको चप्परगौडीदेखि दाङको सीमा शिवखोलासम्म टेलिफोन नेटवर्कले काम गर्नेगरी छलफल थालिएको मन्त्री नमूनाले बताइन् ।
‘अहिले राजमार्ग क्षेत्रमा फोनले काम नगर्ने समस्या रहेको छ । यसले यात्रु तथा दुर्घटना भैहालेका उद्दारको लागि तत्काल सम्पर्क गर्न गाह्रो हुन्छ’ उनले भनिन्, ‘कम्तीमा पनि यो क्षेत्रको राजमार्गमा टेलिफोनले काम गर्ने वातावरण बनाउन लागिपरेकी छुँ ।’ नेपाल टेलिकम लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाका निमित्त कार्यालय प्रमुख शिव खनालले दुई पालिकाका केही स्थानमा नेपाल टेलिकमका नयाँ टावर थप गर्ने र अहिले भएका टावरहरुको स्तरउन्नती गर्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।