रुपन्देहीकी रिमा इन्सेकको लुम्बिनी प्रदेश उत्कृष्ट जिल्ला प्रतिनिधि

नेपालगन्ज : रुपन्देहीकी रिमा विसी लुम्बिनी प्रदेशमा इन्सेकको यसवर्षको उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा पुरस्कृत भएकी छन् ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जले मंगलबार यहाँ आयोजना गरेको मानव अधिकार तथा मानविय अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले विसीलाई पुरस्कृत गरेका हुन् । इन्सेकले हरेक वर्ष सात प्रदेशबाट एक एक जना जिल्ला प्रतिनिधिलाई पुरस्कृत गर्ने गरेको छ । कार्यक्रममा लुम्बिनी प्रदेशमा देशमै सबैन्दा बढी मानव अधिकार उल्लंघनका घटना भएको जानकारी दिइएको थियो । इन्सेकले सन् २०२२ मा देशभरी ७ हजार ३ सय ७६ घटनामध्ये लुम्बिनी प्रदेशमा मात्र ४ हजार २ सय २८ वटा घटना अभिलेख भएको जनाएको छ ।
इन्सेक अध्यक्ष अर्यालले मानव अधिकार उल्लंघन हुँदा चुप लागेर नबसेर उजुरी दिनुपर्ने सुझाव दिए । उनले पछिल्लो समय द्वन्द्वका घटनामा सरकारले न्याय र परिपूरण दिने कुरामा इमान्दार नबन्नु द्वन्द्वलाई बल्झाएको आरोप लगाए ।
इन्सेक लुम्बिनी प्र्रदेश संयोजक भोला महतको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राष्ट्रिय मानव अधिकार आयोगका द्वारीका अधिकारी, नेपाल बारका पूर्व उपाध्यक्ष प्रहलादबहादुर कार्की, द्वन्द्व पीडित तथा एकल महिला सञ्जालका अध्यक्ष एकमाया विक, द्वन्द्व पीडित समाज बाँकेका अध्यक्ष चन्द्रकला उप्रेती, अधिकारकर्मी रविन्द्र कर्णलगायतले मानव अधिकारको रक्षाबारे धारणा राखेका थिए ।