नेपालगन्जमा एक महिने मेकअप तालिम सुरु

नेपालगन्ज : महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिकाले एक महिने मेकअप तालिम सुरु गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाले आइतबार न्यूरोडस्थित ‘आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमी’मा मेकअप तालिमको उद्घाटन गरिन् । मन्त्री नमुनाले हातमा सीप भएको मानिस कहिल्यै बेरोजगार नहुने जिकिर गर्दै सरकारले लगानी गरेको सीपमूलक तालिमलाई आफैले शुल्क तिरेको अनुभूति गरेर ध्यानपूर्वक सिक्न सहभागीलाई आग्रह गरिन् । सरकारले महिलाहरुलाई आर्थिक रुपमा सक्षम र आत्मनिर्भर बनाउनकै लागि विभिन्न किसिमका तालिममा ठूलो लगानी गरिरहेको उनले बताइन् ।
साना तथा घरेलु उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले तालिमपछि ब्यवसायिक बाटो पहिचान गर्न ढोका खोल्ने बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्त कनोजियाले सुन्दरता शब्दले महिला र पुरुष दुबैकोलागि महत्व राख्ने बताए ।
‘आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमी’ ले गत वर्ष उत्कृष्ट तालिम दिएकाले यस वर्ष पनि एकेडेमीसँगै सहकार्य गरेर तालिम सञ्चालन गरेको नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास तथा साझेदारी शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नारी विकास केन्द्र बाँकेका कोषाध्यक्ष रचना श्रेष्ठले सौन्दर्य कलामा महिलाहरुको आकर्षण बढ्दै गएकोले यस तालिममा सिमित संख्या छनौट गर्न निकै समस्या भएको बताइन् ।
तालिममा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत २३ वटै वडाबाट छनोट गरिएका २९ जना महिलालाई सहभागिता गराइएको छ । एक महिने तालिममा मेकप सम्बन्धी विभिन्न करिव २६ वटा विषयमा प्रशिक्षण दिइने आर्टिस्टिक द मेकप स्टुडियो एण्ड एकेडेमीका सञ्चालक एवं प्रशिक्षक अरुणा चौधरीले जानकारी दिइन् ।