‘ग्राहक नबनेर राससको समाचार नचोरौं’

नेपालगन्ज : राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले ग्राहक नबनेर राससको समाचार नचोर्न मिडिया सञ्चालकसँग आग्रह गरेका छन् ।
राससले आइतबार नेपालगन्जमा सेवाग्राहीबीच आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष झाले राससको समाचार प्रयोग गर्ने १२ हजारभन्दा बढी मिडिया भए पनि ग्राहक निकै कम भएको बताए । उनले भने, ‘राससको आधिकारिक रुपमा सेवा स्वीकार नगर्ने मिडिया हुबहुमा पर्ने, मिडियालाई चोरीको आरोप लाग्ने र समग्र मिडियाको गुणस्तर खस्किने खतरा हुन्छ ।’ अध्यक्ष झाले राससलाई २४ घण्टे समाचार सेवा बनाउने, बहुभाषी बनाउने र सेवालाई विशिष्ठिकृत गरिने बताए ।
कार्यक्रममा राससका आलेख प्रमुख कृष्ण अधिकारी र मार्केटिङ प्रमुख राजाराम कार्कीले राससको बुलेटिन र सेवा शुल्कबारे जानकारी गराएका थिए । सो क्रममा राससकर्मीले दैनिक नेपाली र अंग्रेजी गरी १५० बढी समाचार, २०० बढी फोटो र २० बढी भिडियो सेवा प्रदान गरिरहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बाँकेका पत्रकारहरु कृष्ण अधिकारी, तुला अधिकारी, झलक गैरे र शंकरप्रसाद खनालले राससको सेवाको गुणस्तर र साना मिडियाका लागि राससको सुविधाको लागि सुझाव दिएका थिए ।