नेपाल-भारत साहित्य सङ्गोष्ठी सम्पन्न

नेपालगन्ज : नेपाल-भारत साहित्य सङ्गोष्ठी सम्पन्न भएको छ ।

महेन्द्र पुस्तकालयको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि आयोजित संगोष्ठीमा नेपाल र भारतका साहित्यकारहरुबीच दुई देशका साझा साँस्कृतिक सम्बन्धका विषयमा छलफल एवं साहित्य पाठ भएको छ ।
सङ्गोष्ठीमा आइतबार नेपाल र भारतका साझा भाषा, संस्कृति, अवधि भाषा, साहित्य अनुवादका विषयमा साहित्यकार एवं विद्वानहरु सनत रेग्मी, आराध्य शुक्ला, द्वारिकानाथ पाण्डे, गोपाल अश्क, डा. रामबहादुर मिश्र र हंसावती कुर्मीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले नेपाल भारतका भाषा, संस्कृतिमा समानता रहेको बताउँदै त्यसको प्रवद्र्धन साहित्यमार्फत पनि हुने भएकोले पुस्तक र लेख रचनाहरु अनुवाद हुनु आवश्यक रहेको बताएका थिए ।
संगोष्ठी सकेर सोमबार भारतीय साहित्यकारहरुलाई बाँके बर्दियाका पर्यटकीय स्थल दर्शन गराएर विदा गरिने पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए । करिब दुई दशक बन्द रहेको पुस्तकालयमा केही महिनाअघि निर्वाचित नयाँ कार्यसमितिले पुस्तकालयलाई पुनः व्यवस्थित गर्नुका साथै साहित्यिक र प्राज्ञिक क्रियाकलपापहरु सुरु गरेको अध्यक्ष यादवले बताए ।
कार्यक्रममा नेपाल र भारतका गरी करिब तीन दर्जन स्रष्टाहरुले कविता, कथा, गीत, गजल लगायतका रचना वाचन पनि गरेका थिए । भाषा आयोगका सदस्य डा. अमर गिरिले उद्घाटन गरेको कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य हंसावती कुर्मी, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्कीको सहभागिता रहेको थियो ।