बाँकेका धेरै पत्रकारको आँखामा सुख्खापनको समस्या

नेपालगन्ज : बाँकेका पत्रकारको आँखामा सुख्खापनको समस्या देखिएको छ ।
१५औं स्थापना दिवसको अवसरमा अवधी पत्रकार संघ नेपाल केन्द्रीय समिति नेपालगन्जले नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको सहयोगमा बिहीबार पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको थियो ।

जिल्लाका पत्रकारमध्ये आँखा जाँच गराउने ६० जना पत्रकारमध्ये सबैभन्दा धेरैमा सुख्खापनको समस्या देखापरेको हो । आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकका अनुसार २४ जना पत्रकारमा सुख्खापन, केही वयस्कहरुलाई टाढाको दृष्टि र ४० वर्ष नाधेकाहरुलाई नजिकको नदेख्ने र एक जना पत्रकारलाई मोतिविन्दुको समस्या देखा परेको थियो । पत्रकारले समाचार संकलन, लेखन र सम्पादनका क्रममा कम्प्युटर, ल्यापटप र स्मार्ट फोनमा बढी काम गर्नुपर्ने भएकाले आँखामा समस्या देखिएको हो । पत्रकारलाई कम्प्युटर र मोबाइल चलाउने बेला स्वास्थ्यकर्मीले ब्लुकट भएको चस्मा लगाउन सिफारिस गरेका छन् ।

सुख्खापन हुनेलाई निःशुल्क औषधि, चस्मा लगाउनेहरुका लागि ५० प्रतिशत छुुट र मोतिविन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार वर्माले बताए । आँखा जाँच कार्यक्रमको शुभारम्भ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले गरेका थिए ।