बाँके निकुञ्जमा टाइम कार्ड लगाउन सरोकारवाला सहमत

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा सवारी साधनमा टाइम कार्ड लागू गर्न सरोकारवाला सहमत भएका छन् । टाइम कार्ड लागू गर्ने मिति र स्थानबारे भने थप छलफल गरेर टुंगो लगाउने निर्णय गरिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सोमबार कोहलपुरमा आयोजना गरेको सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवालाबीच छलफलमा यातायात व्यवसायी, सुरक्षा निकाय, वन संरक्षणकर्मीलगायतका सरोकारवालाले निकुञ्ज क्षेत्रमा हुने दुुर्घटना न्यूनिकरणका लागि सवारी साधनका लागि टाइम कार्ड लागू गर्ने लगायतका चार बुँदे निर्णय गरेका हुन् । इलाका प्रहरी कार्यालय कोेहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीका अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा निर्धारित अधिकतम् गति ४० किमी प्रतिघण्टा कायम गरिएकोले सो सबै सवारी चालकले अनिवार्य रूपमा पालना गर्ने र सो सडक खण्डमा टाइम कार्ड लगाउनको लागि थप छलफल गर्ने’ निर्णय भएको छ । त्यसैगरी निकुञ्जमा हुने सवारी दुर्घटना रोेक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि रिफ्लेक्टर ट्याङगल राख्ने, निकुञ्जभित्र बिग्रेको सवारी साधन मर्मतको लागि एक घण्टा भन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारीलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय सरोकारवालाले गरेका छन् ।
कार्यक्रममा डीएसपी तिवारीले दुर्घटना न्यूनिकरणका लागि अपनाउनुपर्ने सावधानीका विधि सिकाउँदै यात्री र सवारी साधनका गलत अभ्यासले हुने मानवीय क्षतिबारे जानकारी गराएका थिए । कार्यक्रममा बाँके निकुञ्जका वार्डेन श्यामकुमार शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदी, कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापा, इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख नेत्रप्रसाद भट्ट र बागेश्वरी यातायात व्यवसायी प्रा.लि.का अध्यक्ष मनप्रसाद आचार्यले सवारी दुर्घटना न्यूनिकरण र निकुञ्ज क्षेत्रमा सवारी साधनमा लगाइने टाइम कार्डको फाइदाका विषयमा धारणा राखेका थिए ।