दुई वटा अटोक्लेभ थन्काएर औषधिजन्य फोहोर डम्पिङ साइटमा

शंकरप्रसाद खनाल । वनकटवा (बाँके)
बाँकेको बैजनाथ गाउँपालिकामा दुई दुई वटा अटोक्लेभ मेसिन थन्काएर औषधिजन्य फोहोरलाई डम्पिङ साइटमा फाल्ने गरिएको छ ।
वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रमा झन्डै एक वर्ष अघि ग्रामीण गेरुवा जागरण संघले अटोक्लेभ मेसिन सहयोग गरेको थियो । यो मेसिनबाट केही समय औषधिजन्य फोहोर निर्मूलीकरण हुँदै आएकोमा चार पाँच महिना यतादेखि औषधिजन्य फोहोर डम्पिङ साइटमा पठाउने गरेको अटोक्लेभ मेसिन सञ्चालन गर्ने कार्यालय सहयाोगी मदन थारुले बताए । उनले भने, ‘एक वर्षको अवधिमा मैले पाँच ६ पटक मात्र अटोक्लेभ मेसिनबाट निर्मूलीकरण गरेको छु । अहिले त बिग्रिएर सञ्चालनमा आएको छैन ।’ एउटा अटोक्लेभ मेसिन बिग्रिएर थन्किए पनि अर्को अटोक्लेभ मेसिन त नचलाएर थन्काइएको छ । एउटा हुँदा हुँदै लुम्बिनी प्रदेश सरकारले अर्को अटोक्लेभ मेसिन दिएको छ ।
वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सिनियर अनमी दुर्गा भण्डारी नयाँ अटोक्लेभ सञ्चालनमा नआएरै थन्किएको स्वीकार्छिन् । ‘भएको मेसिन सञ्चालन गर्न सकेका छैनौं । स्वास्थ्य केन्द्रसँग बजेट नै छैैन’, उनले प्रष्ट पारिन् ।
बैजनाथ गाउँपालिका ५ का वडाध्यक्ष तथा वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन समितिका अध्यक्ष देवबहादुर रावत पनि दुई दुई वटा अटोेक्लेभ मेसिन थन्काएर फोहोर टे«क्टरलाई दिन बाध्य भएको बताउँछन् । ‘यी दुई वटा मेसिन मात्र नियमित रुपमा सञ्चालन गर्न सकेमा बैजनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गर्न सकिन्थ्यो । गाउँपालिकाले ध्यान दिनसकेको छैन’, उनले जिकिर गरे ।
बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्तराज आचार्य अटोक्लेभ मेसिन बिग्रिएर औषधिजन्य फोहोर पनि डम्पिङ साइटमा पठाएको हुनसक्ने बताउँछन् ।
यसअघि गत २६ असोजमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही लगायतका जिम्मेवार कर्मचारीले
स्वास्थ्य संस्थाजन्य फोहोरको उचित व्यवस्थापनका लागि थन्किएको अटोक्लेभ मेसिनलाई अर्को स्थानमा राखेर औषधिजन्य फोहोर निर्मूलीकरण गरेर मात्र व्यवस्थापन गर्ने ७ बुँदे लिखित प्रतिबद्धता जनाएका थिए । त्यो समयमा गाउँपालिकाका स्वास्थ्य संस्थाले निमूलीकरण बिना टे«क्टरलाई फोहोर नदिने प्रतिबद्धता जनाएका थिए । यद्यपि त्यो प्रतिबद्धता कार्यन्वयन भएको छैन । स्वास्थ्य संस्थाजन्य फोहोरको उचित व्यवस्थापनका लागि कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यलगाययतले पनि ७ बुँदे प्रतिबद्धता जनाएका थिए ।