चित्रकला प्रतियोगितामा आभाश नीलसागर प्रथम
नेपालगन्ज : चित्रकला प्रतियोगितामा आभाश नीलसागर प्रथम हुनु भएको छ ।
६२ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा गोपाल-नीना फाउण्डेशन नेपाल नेपालगन्जले स्थानीय नीलसागर सेवा आश्रममा आश्रित बालबालिकाबीच आयोजना गरेको चित्रकला प्रतियोगितामा आभाश प्रथम हुनु भएको हो ।
प्रतियोगितामा श्रृङ्खला नीलसागर द्वितीय, सम्पदा नीलसागर तृतीय, साना नीलसागर र आदर्श नीलसागरले सान्तवना पुरस्कार जित्नु भएको थियो ।
सेवा आश्रममा रहेका बालबालिकाहरूको सिर्जनात्मक क्षमता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । चित्रकला प्रतियोगितामा सहभागी बालबालिकामध्ये उत्कृष्ट ५ जनालाई छनोट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । आश्रममा आश्रितहरुलाई बिहानको खाना पनि फाउण्डेशनले नै खुवाइएको थियो ।
फाउण्डेसनकी सहनिर्देशक डा. तृप्तीपाल रमणका अनुसार आश्रममा आश्रित अभिभावक विहीन, आफन्तहरु समेत गुमाएका सहाराविहीन करिब ५० जना बालबालिकाहरुलाई पेन्टिङ र खेल सामाग्री वितरण गरिएको थियो । डा.मणले भन्नुभयो– विगत २ वर्षदेखि बाल दिवसकै अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण, चित्रकला प्रतियोगिता, निःशुल्क स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य परामर्श सेवा लगायतका कार्यक्रम गरिरहेका छौंं ।
सो अवसरमा फाउन्डेसनका शुभचिन्तक वरिष्ठ पत्रकार पूर्णलाल चुकेले २०७९ सालमा स्थापना भएको गोपाल–नीना फाउण्डेसन नेपालले स्थापना कालदेखि नै विभिन्न किसिमका सामाजिक, मानवीय, पर्यावरणीय, शिक्षा तथा स्वास्थ्य सेवा सम्बन्धि कार्यक्रमहरु आयोजना गर्दै आएको चर्चा गर्नु भयो । पत्रकार चुकेले भन्नुभयो– पश्चिम नेपालका सुप्रसिद्ध वरिष्ठ फिजीसियन डा. गोपालप्रसाद श्रेष्ठ र प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नीना श्रेष्ठको नाममा उहाँका सुपुत्र वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठको अध्यक्षतामा स्थापित उक्त फाउण्डेसनले स्थानीय जनमत अर्धसाप्ताहिकद्वारा विगत २० वर्षदेखि सञ्चालन गर्दै आएको त्रैमासिक रक्तदान कार्यक्रममा पनि सहकार्य गरेर महत्वपूर्ण मानवीय योगदान दिंदै आएको छ । नेपालगन्ज–१० निवासी वरिष्ठ चिकित्सकद्वय श्रेष्ठ २०३९ सालदेखि नेपालगन्जमा चिकित्सा सेवामा कार्यरत हुनुहुन्छ ।
सोही अवसरमा आश्रममा आश्रित २३५ जनालाई बिहानको खाना पनि खुवाइएको फाउन्डेसनका जनसम्पर्क अधिकृत विजयन्त जिसीले जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै निल सागर आश्रमकी संस्थापक उपाध्यक्ष डा. अमन सुवेदीले २०७३ सालमा स्थापना भएको आश्रम बाँके जिल्लामा अहिले बुवाआमा र अनाथ बालबालिकाहरु २३५ जना आश्रित रहेको जानकारी दिंदै स्थानीय जनताको सहयोगबाटै सञ्चालन भइरहेको बताउनु भयो ।
सो कार्यक्रममा फाउण्डेसनका कार्यक्रम सहायक दक्षिणा क्षेत्री, मोनिका थारु, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पतालका कर्मचारीहरुले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।









