बाँकेका पत्रकारको मृर्गौला स्वस्थ

नेपालगन्ज : बाँकेमा परीक्षण गरेका पत्रकारको मृगौला स्वस्थ रहेको पाइएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष रहनु भएका प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ जन्मजयन्तीको अवसरमा शनिबार नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजना, नेपाल प्रेस युनियन बाँके र पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानको समन्वय तथा सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जको प्राविधिक सहयोगमा पत्रकारका लागि गरिएको निःशुल्क मृगौला परीक्षण गरिएको थियो ।

उपचारमा संलग्न वरिष्ठ युरो सर्जन डा.दीपेशकुमार गुप्ताले सबैको पत्रकारको मृगौला स्वस्थ रहेको जानकारी दिनुभयो । ‘७५ जना पत्रकारको परीक्षण गरेकोमा दुई-दुई जनालाई पित्तथैली र मिर्गौैलामा सानो आकारको पथ्थरी भेटिएको थियो । धेरै जसो पत्रकारको कलेजोमा बोसो जमेको पाइएको थियो । यो निकै ठूलो समस्याको रुपमा होइन । हाम्रो खानपान, रातो मासु, बोसो, तेल लगायतका खानेकुराका कारण फ्याट्टी लिभरको समस्या देखिन थालेको छ । यो सामान्य अवस्थाको हो । औषधि नै खाने लेभलको होइन’, उहाँले प्रष्ट पार्नुभयो ।
सेन्ट्रल सिटी हस्पिटल नेपालगन्जका सूचना अधिकारी किरण ऐरीका अनुसार ७५ जना पत्रकारले सेवा लिएकोमा ६६ जनाले भिडियो एक्सरे गरेका थिए । पत्रकारको रगत, पिसाब र ब्लड प्रेसर पनि निःशुल्क जाँच गरिएको थियो ।
यसअघि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले निःशुल्क मृगौला जाँच कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । अध्यक्ष चौलागाईले स्वर्गीय पन्नालाल गुप्ताले पत्रकारितासँगै लोकतन्त्र, प्रजातन्त्र र सामाजिक न्यायका लागि पुर्‍याएको योगदानको स्मरण गर्नुभयो ।

उहाँले स्वर्गीय गुप्ताको योगदानलाई चिरस्थायी बनाउन नेपालगन्जमा शालिक स्थापना तथा चोक र सडकको नामकरणका लागि सबै पक्ष एकताबद्ध भएर पहल गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका पन्नालाल गुप्ता स्मृति प्रतिष्ठानका अध्यक्ष, नेपालगन्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताले आफ्ना पिता पन्नालाल गुप्ताले जीवनभर पत्रकारितालाई नै मुख्य पेशा बनाएर समाज र लोकतन्त्रका लागि योगदान गरेको स्मरण गर्नुभयो ।

सो अवसरमा चाचाजीका नाति वरिष्ठ युरो सर्जन तथा स्वर्गीय गुप्ताका नाति डा. दिपेशकुमार गुप्ताले मृगौलाको स्वास्थ्य, मिर्गौला रोगबाट बच्न अपनाउनुपर्ने सावधानी तथा नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे जानकारी गराउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले दिनरात पत्रकारिता कर्ममा खटिने पत्रकारको स्वास्थ्य अवस्था संवेदनशील हुने भएकाले महासंघले पत्रकारको स्वास्थ्यलाई प्राथमिकतामा राखेर विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको बताउनुभयो। ‘गत वर्ष पनि हामीले स्वर्गीय पन्नालाल गुप्ताको जन्मजयन्तीको अवसरमा पत्रकारको निःशुल्क मुटु परीक्षण गरेका थियौँ । यस वर्ष मिर्गौला परीक्षण कार्यक्रम राखेका हौँ,’ उहाँले भन्नुभयो। अध्यक्ष गिरीले स्वर्गीय गुप्ताले नेपाली पत्रकारितामा स्थापित गरेको निष्ठा, सादगी र व्यावसायिक प्रतिबद्धता आजका पत्रकारका लागि समेत अनुकरणीय रहेको बताउनु भयो । उहाँले गुप्तालाई ‘सन्त पत्रकार’का रूपमा स्मरण गर्दै उहाँको योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष कमल खत्रीले स्वर्गीय पन्नालाल गुप्ता नेपाली पत्रकारिता क्षेत्रका अथक योद्धा भएको बताउनुभयो । उहाँले नेपाली पत्रकारितामा गुप्ताले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।