बर्दियाको ठाकुरबाबामा बहुप्रतिक्षित प्रज्ञा प्रतिष्ठान गठन

नेपालगन्ज : बर्दियाको ठाकुरबाबा नगरपालिकामा बहुप्रतिक्षित नगर स्तरीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । ठाकुरबाबा नगरपालिका प्रज्ञा प्रतिष्ठान ऐन २०८० अनुसार शुक्रबार चुरे माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद पौड्याल अध्यक्ष रहेको ९ सदस्यीय प्रज्ञा प्रतिष्ठान गठन गरिएको नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए ।

प्रतिष्ठानको सदस्यमा खगेन्द्रप्रसाद उपाध्याय (खगेन्द्र नेपाल), जीवराज पाण्डेय, भिख्खुराम थारु, रमेशकुमार घर्ती, जयाराम विक, लक्ष्मी पौडेल, रिना शाही सदस्य र नगरपालिकाको शिक्षा शाखा प्रमुख सीताकुमारी भण्डारी सदस्य सचिव रहेका छन् ।

ठाकुरबाबाले २५ असार, २०७८ मा प्रज्ञा प्रतिष्ठानका लागि १० लाख विनियोजन गरेको थियो । समृद्धिका लागि जनसहभागिता भन्ने मूल नाराका साथ सम्पन्न नवौं नगरसभाले नगर स्तरीय प्रज्ञा प्रतिष्ठानका लागि बजेट विनियोजन गर्ने ठाकुरबाबा लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह बनेको थियो तर प्रतिष्ठान गठन नहुँदा बजेट फ्रिज भएको थियो । अहिले भने कानुन बनाएर प्रतिष्ठान गठन गरिएको छ ।