‘टुर दी ठाकुरद्वारा’ साइकल यात्रा सुरु

नेपालगन्जबाट सुरु भएको टुर दि ठाकुरद्वारा साइकल यात्रा । फोटो साभार : हिमालयन्यूजहब

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा नेपालगन्ज साइकल फेस्टिवल अन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ छैठौं संस्करणको साइकल यात्रा शुक्रबार बिहान नेपालगन्जबाट सुरु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुक्रबार बिहान नेपालगन्जको बागेश्वरी मन्दिरबाट साइकल यात्राको शुभारम्भ गरेका हुन् । विश्व साइकलयात्री पुष्कर शाह, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीलगायत साइकल यात्रीलाई हौसला दिन कार्यक्रममा पुगेका थिए । नेपालगन्जबाट सुरु भएको साइकल यात्रा बर्दियाको ठाकुरद्वारासम्म १०३ किलोमिटरको दुरीमा हुनेछ । साइकलयात्रामा भारतका १५ जनासहित धरानदेखि महेन्द्रनगरसम्मका २२५ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक सतिश निरौलाले जानकारी दिए । साइकलयात्रा शनिबार ठाकुरद्वारा पुगेर समापन हुनेछ ।