वादी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको किवानिज क्लब टीकापुरले वादी समुदायका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
टीकापुर नगरपालिका–८ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयको सामाजिक परीक्षण तथा अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । कार्यक्रममा १९ जना विद्यार्थीलाई झोला, कापीकलम, पेन्सिल, स्वेटर प्रदान गरिएको किवानिज क्लब टीकापुरका अध्यक्ष भीम विकले जानकारी दिए । विपन्न अवस्थामा रहेका वादी समुदायका बालबालिकालाई पढाइमा सहयोग पुगोस् भनेर सहयोग गरिएको अध्यक्ष विकले बताए ।
विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बृजराम चौधरीको अध्यक्षतामा भएको सामाजिक परीक्षण कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख उप–सचिव दमनसिंह चौधरी रहेका थिए । शैक्षिक सामग्री सहयोगले अति विपन्न बालबालिकाको शिक्षामा टेवा पुग्ने उनले बताए।

कार्यक्रमको विशिष्ट अतिथि टीकापुर नगर शिक्षा समिति सदस्य मञ्जु विकले आर्थिक अभावले पढाइमा समस्यामा परेका विद्यार्थीलाई यस प्रकारको सहयोग प्रभावकारी हुने बताइन्। विद्यालयलाइ खेलकुद सामाग्री पनि हस्तान्तरण गरिएको थियोे । शैक्षिक सामग्री वितरण कार्यक्रम किवानिज चिल्ड्रेन फण्ड र गगन फाउन्डेसनले सहयोग गरेको क्लबका अध्यक्ष विकले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर ठकुल्ला, विद्यालयका पूर्वअध्यक्ष शेरबहादुर साउँद, जितराम चौधरी, भौना चौधरीले विपन्न वादी बालबालिकालाई सहयोग गरेको भन्दै क्लबको प्रशंशा गरेका थिए । कार्यक्रममा विद्यालयका लेखापाल रामकृष्ण भट्टराईले चालु आबको ६६ लाख ६१ हजार २८९ रुपैयाँको विद्यालयको वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन शिक्षक सरला ठकुराठीले गरेकि थिइन् । कार्यक्रममा विद्यालय स्थानीय सामाजिक अगुवा ,अभिभावक, किवानिज क्लबका पदाधिकारी तथा विद्यार्थीहरु सहभागी थिए ।