पत्रकार धितालका जनयुद्धकालीन पुस्तकमाथिको संवादले जनयुद्धको झल्को

नेपालगन्ज : जनपक्षीय पत्रकार मनऋषि धितालले लेखेका जनयुद्धकालीन सात पुस्तकमाथि ‘नेपालगन्ज संवाद’ गरिएको छ ।
प्रेस सेन्टर लुम्बिनी प्रदेश कमिटीले आयोेजना गरेको अन्तरसंवाद कार्यक्रममा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका सहयात्रीद्वय पत्रकार पिटरले गण्डकयात्रा र बर्दियाको बारबर्दिया नगरपालिकाका पूर्व नगर प्रमुख दुर्गाबहादुर थारु कविरले पिलीयात्रा, जनयुद्धको समाचार लेखेका लेखक धितालका सहकर्मी पत्रकारद्वय पत्रकार तुला अधिकारीले जेलयात्रा र पत्रकार शंकरप्रसाद खनालले आधारयात्रा पुस्तकमाथि टिप्पणी गरेका थिए । त्यसैगरी साहित्यकारत्रय लेख प्याकुरेलले राजमार्गयात्रा, शशीराम कार्कीले गुफा प्रेसका चिठी, खोपीराम ओलीले बेनीयात्रा पुस्तकको समीक्षा गरेका थिए ।

पत्रकार पिटरले धितालका पुस्तकलाई अणु तथा परमाणु भएको टिप्पणी गरे । माओवादीले बिर्सदै गएको जनयुद्धलाई पुस्तकले सम्झाएको उनको जिकिर थियो । पूर्व नगर प्रमुख कविरले पुस्तकहरु पढ्दा आफूलाई जनयुद्धकालीन अवस्था ताजा भएर आएको बताए ।
पत्रकार अधिकारीले त पुस्तकमा जेलभित्रका मान्छेहरुको दैनिकी, उनीहरुको मनोविज्ञान, जेलभित्रको वास्तविक अवस्था जस्ताको तस्तै उतारिएको दाबी गरे । पत्रकार खनालले युद्ध पत्रकारको डायरी भए पनि जनयुद्धको सम्पूर्ण नालीबेली नै पुस्तकमा समेटिएकाले अध्येताका लागि गतिलो सन्दर्भ सामग्री भएको सुझाव दिए । साहित्यकार ओलीले पुस्तकमा जनयुद्धकालीन समयको अवस्था परिस्थिति जस्ताको तस्तै उतारिएको पाए । पुस्तक पढ्ने पाठक आफै जनयुद्धमा सहभागी भएको प्रत्यक्ष अनुभूती दिन सफल रहेको जिकिर गरे ।

साहित्यकार प्याकुरेलले जनयुद्धकालीन विवाहमा एउटा कापी, कलम र किताब उपहार दिएर सम्पन्न भएको इतिहास स्मरण गर्दै अहिलेका विवाहहरुमा गरिने भड्किलो खर्च कटौती गरी सोही अनुसार गर्नका लागि पनि पुस्तक प्रेरणा बन्ने सुझाव दिए ।
लेखक मनऋषि धितालले रचनागर्भ सुनाउँदै आफूलाई केवल जनयुद्धका अनुभूती बाँड्ने हुलाकी भएको बताए । पुस्तकहरु कल्पना नगरी वास्तविक रुपले तथ्यका आधारमा लेखिएको उनले प्रष्ट पारे । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वरजङ्ग गहतराज ‘अथक’ले जनयुद्धका बलमा देशमा गणतन्त्र, संघीयता, समावेशीता, धर्मनिरेपक्षता, समानुपातिक लगायतका व्यवस्थाहरु आएको दाबी गरेका थिए । १० बर्षे जनयुद्धलाई अहिलेका पुस्ताले पुस्तकमार्फत् जस्ताको तस्तै अनुभूती गर्न सक्ने बताए । नेकपाका पोलिटव्यूरो सदस्य बन्धु ‘सी’ले जनयुद्धका घटनाहरु पुनर्ताजगी गरेको स्मरण गरिन् ।

माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले जनयुद्धलाई हत्या र हिंसाको रुपमा बुझ्नेहरुका लागि जनयुद्ध आमूल परिवर्तनका लागि हो भन्ने प्रमाणिक दस्तावेज भएकोे जिकिर गरे । कार्यक्रममा बरिष्ठ पत्रकार जे. पाण्डेले जनयुद्धको सुरुवात ताका नै समाचार संकलन गरेको स्मरण गरे ।