शिवरात्रीकै दिन २४२ तीर्थयात्रीले गरे कैलाश मानसरोवरको दूरदर्शन (मनोरम फोटोहरु)

नेपालगन्ज : चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरका शुक्रबार नेपालगन्ज विमानस्थल हुँदै श्री एयरका ६ वटा चार्टर्ड विमानबाट २४२ जनाले माउन्टेन फ्लाइटमार्फत दूरदर्शन गरेका छन् ।
नेपालको पथिल होलिडेजले भारतीय ट्राभल कम्पनी ट्रीप टू टेम्पलले १५१ जना भारतीय, काठमाडौंका शिवालय टुर्स एण्ड ट्राभल्स र सम्राट ग्रुपको ९१ जनाले श्री एयरका नेपालगन्ज स्टेशन प्रमुख उपेन्द्र नारायण श्रेष्ठले जानकारी दिए ।
केही नेपालीबाहेक अधिकांश भारतीय हुन् । नेपालगन्ज विमानस्थलबाट बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट, मुगु, बाजुरा हुँदै हुम्लाको लिमी उपत्यका माथिबाट दूरदर्शन गराइएको हो । तराईका हरिया फाँट, वन जंगल, पहाडी डाँडाकाँडा अनि अपि र सैपाल हिमाल, रारा ताल हुँदै कैलाश पर्वत र मानसरोवर तालका मनोरम दृश्यावलोकन गरिएको थियोे । यो उडानमा लंकाका राजा रावणले भगवान शिवको घोर तपस्या गरेको राक्षस तालको पनि दृश्यावलोकन गराइएको थियो ।
कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरूका लागि सस्तो र राम्रो धार्मिक गन्तव्यको रुपमा माउन्टेन फ्लाइट रहेको ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्रा बताउँछन् । ‘पहिलो पटक परीक्षण उडान गर्दा हामीले ३५ जना भारतीय पर्यटकलाई दूरदर्शन गराएका थियौं । दोस्रोदेखि पाँचौं उडानमा १५० भारतीयलाई कैलाश मानसरोवरको दर्शन गराउन सफल भएका छौं’, मिश्राले भने, ‘आगामी रामनवमीको अवसरमा पनि चार वटा माउन्टेन फ्लाइटको तयारी भइरहेको छ । दुई वटा विमानका लागि यात्री बुक भइसकेका छन् ।’ माउन्टेन फ्लाइटकै लागि बिहीबार नै नेपालगन्ज पुगेका १५० जना भारतीय पर्यटक नेपालगन्जको भ्यू होटल सिद्धार्थमा बसेको होटलका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले जानकारी दिए ।
वनारणीको अनलाइन पाठपूजा डटकमका पण्डितद्वय अभिनव त्रिपाठी र रजनीश मिश्राले विमानभित्रै भगवान शिवको पूजा, मानसरोवरको पवित्र जलबाट छर्केर खान दिएका थिए । कैलाश पर्वत अवलोकनका क्रममा यात्रीले हरहर महादेव भनेका थिए । पण्डित मिश्रा हिन्दुहरुका मुख्य तीन देवताको लोक (ब्रह्माको ब्रह्मा लोक, विष्णुको बैकुण्ठ र शिवको कैलाश धाम) रहेकाले अरु ब्रह्मा र विष्णुका धाम जिवितै जान नसकिने भए पनि शिवको कैलाश पर्वत पुग्नेले सात जन्मको पुण्य मिल्ने दाबी गरे ।
३५ जना भारतीय तीर्थयात्रीलाई पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइटको सफल परीक्षण उडान गरेको थियो ।