नेपालगन्ज नर्सिङ्ग क्याम्पसको प्रशासनिक भवन उद्घाटन र पुस्तकालय भवन शिलान्यास

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ्ग क्याम्पस नेपालगन्जको प्रशासनिक भवन उद्घाटन र पुस्तकालय भवनको शिलान्यास गरिएको छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. दिव्यासिंह शाहले बुधबार प्रशासनिक भवन उद्घाटन र पुस्तकालय भवनको शिलान्यास गरेकी हुन् ।
भवन उद्घाटन तथा शिलान्यास गर्दै डीन शाहले भवन निर्माणसगै थप प्रशासनिक कामकाज कार्य सम्पादनमा सहजता हुने बताइन् । संस्थानका सहायक डीन प्रा. तक्मा केसीले नेपालगन्ज नर्सिङ्ग क्याम्पस बाँके जिल्लाको एकमात्र नभई सम्पूर्ण लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि एक मात्र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तरगत नर्सिङ्ग क्याम्पस भएकोले स्थानीय, प्रदेश तथा संघीय सरकारबाट यस क्याम्पसका लागि थप भौतिक पूर्वाधार निर्माण कार्यमा सहयोग र सहकार्य गर्नुपर्ने सुझाव दिइन् ।
के एण्ड के इन्जिनियरिङ्ग कन्सल्टेन्सी खजुरा, बाँकेद्वारा प्राविधिक परामर्श तथा सुपरभिजन भइ ९९ लाख ९९ हजार ९९१ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण व्यवसायी शाही कृष्ण कन्स्ट्रक्सन बैजनाथसँग ७१ लाख दुई हजार ३४३ रुपैयाँमा निर्माण कार्य सम्झौता भएर १९ वैशाखमा निर्माण सम्पन्न भएको थियो ।
समयमै भवन निर्माण सम्पन्न गर्ने शाही कृष्ण कन्स्ट्रक्सनका सञ्चालक तथा निर्माण व्यवसायी लोकेन्द्र शाही र के एण्ड के इन्जिनियरिङ्ग कन्सल्टेन्सी खजुरा बाँकेद्वारा प्राविधिक परामर्श तथा सुपरभिजन गर्ने इन्जिनियर खेमराज बराललाई सम्मान गरिएको थियो।
बुधबार नै क्याम्पसको पुस्तकालय भवनको शिलन्यास गरिएको थियो । २ करोड ९९ लाख ३२ हजार ५८१ रुपैया लागत अनुमान गरिएको भवन निर्माण कम्पनी ज्वालामणि गोस्पेल जयलक्ष्मी जेभी काठमाडौंले १ करोड ८९ लाख ५३ हजार ७१३ रुपैयाँमा निर्माण सम्पन्न गर्ने ठेक्का कबुल गरी भवन निर्माण कार्य सुरु भएको क्याम्पस प्रमुख तुलसा सुनारले जानकारी दिइन् ।
क्याम्पस प्रमुख तुलसा सुनारको सभाध्यक्षतमा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका अस्पताल नर्सिङ्ग प्रशासक ईश्वरी केसी, क्याम्पसका त्रिवि प्राध्यापक संघका सचिव सृजना सापकोटा तथा त्रिवि कर्मचारी संघका अध्यक्ष पैकराम पासी, स्वतन्त्र विद्यार्थी युनियनका सभापति दीपिका सोनीले क्याम्पसको सफलताको कामना गरेका थिए ।