बाँकेमा जनस्तरबाट विद्युतीय शवदाह गृह बनाउन अभियान सुरु

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँकेमा जनस्तरबाट विद्युतीय शवदाह गृह निर्माणको अभियान सुरु भएको छ ।
राप्ती नदी किनारमा विद्युतीय शवदाह गृहसहितको व्यवस्थित घाट लगायतका संरचना निर्माण गर्न बिहीबारदेखि नेपालगन्जमा महायज्ञ सुरु भएको हो ।
नेपाल सरकारले ११ करोड रुपैयाँको लागतमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा २०७२ सालदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको थियो । पोखराको रामघाट र चितवनको देवघाटमा संघीय सहरी विकास मन्त्रालयले विद्युतीय शवदाह गृहमा लगानी गरेको छ । पोखरामा सञ्चालनमा आइसकेको छ भने चितवनमा निर्माणाधीन छ । देशका अन्य स्थानमा पनि संघीय, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा विद्युतीय शवदाह गृहको तयारी भइरहेको छ । बाँकेको राप्ती किनारमा निर्माण गर्ने तयारी गरिएको शवदाह गृह जनस्तरबाट निर्माण हुने देशकै पहिलो विद्युतीय शवदाह गृह हुनेछ ।
डुडुवा गाउँपालिकाको वडा नं. ५ मा पर्ने राप्ती नदीकोे सिघनीया घाटमा विद्युतीय शवदाह गृह मात्र हुने छैन त्यहाँ क्रियापुत्री घर, मन्दिर, सभा हल, ध्यान केन्द्र, पितृको मृत्यु कर्म, सोह्र श्राद्ध कर्म एवं पितृ मोक्षका अन्य कर्मकाण्ड एकै स्थानमा सम्पन्न गर्न पाइनेछ । आयोजकले घाट स्थललाई आध्यात्मिक उपवन (वैकुण्ठधाम) नामाकरण गरेका छन् । श्रीमद् भागवत् ज्ञानकथा यज्ञलाई पनि वैकुष्ठधाम आध्यात्मिक महोत्सव भनिएको छ ।
बाँकेमा मृत्यु भएका ब्यक्तिलाई राप्ती नदीका सिधनीया घाट र अगैैया लगायतका क्षेत्रका साथै मानखोलामा दाह संस्कार गर्ने गरिए पनि व्यवस्थित घाटको अभावमा सास्ती भोग्नु परिरहेको छ ।
वाचन शिरोमणी पण्डित दीनबन्धु पोखरेलले बिहीबार आध्यात्मिक महोत्सवको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै पण्डित पोखरेलले राप्ती नदीको किनारमा निर्माण गरिने अत्याधुनिक विद्युतीय शवदाह गृहसहितको वैकुण्ठधामलाई पश्चिम नेपालको आर्यघाटको संज्ञा दिए । उनले आध्यात्मिक महोत्सवले धार्मिक र साम्प्रदायिक सदभावलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै सहभागी हुन सबैमा आग्रह गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय दीपा शर्मा र लक्ष्मी तिवारी, प्रदेशसभा सदस्य रत्न खत्रीले महोत्सवका लागि अपुग रकम सरकारले बजेट मार्फत व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । महोत्सव मूल समारोह समितिका संयोजक डा.सुरेशकुमार कनोडियाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, कोहलपर नगरपालिकाका उप–प्रमुख संगीता सुवेदीलगायतले महोत्सवको सफलताको कामनासहित सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
उदघाटन समारोह अघि महोत्सवस्थल रामलीला मैदानबाट निस्केको जातजाति, भाषा, संस्कृति, धर्म र सम्प्रदाय, क्षेत्रगत पहिचान झल्काउने झाँकीसहितको शोभा कलशयात्राले नगर परिक्रमा गरेको थियो । महोत्सव आगामी ३० कात्तिकसम्म सञ्चालन हुनेछ । महोत्सव मूल समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार बिहीबारसम्म नगद ३८ लाख उपलब्ध र २० लाख रुपैयाँ घोषणासहित ५८ लाख रुपैयाँ संकलन भइसकेको छ । वैकुण्ठधाम निर्माण गर्न २० करोड रुपैयाँ बराबरको लागत लाग्ने अनुमान गरिएको कोषाध्यक्ष श्रेष्ठले प्रष्ट पारे ।