लायन्स क्लबद्वारा स्कुललाई शैक्षिक सामग्री र इन्भर्टर सहयोग
नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज युनिटीले नेपालगन्जका दुई वटा विद्यालयलाई इन्भर्टर र शैक्षिक सामग्री सहयोग गरेका छन् ।
लायन्सका संस्थापक मेल्बिन जोन्सको १४६औं जन्मजयन्तीको अवसरमा आयोजित साप्ताहिक सेवाका कार्यक्रम अन्तर्गत चौथो दिन यी दुई क्लबले शुक्रबार संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर शारदा आधारभूत विद्यालय आदर्शनगरलाई शैक्षिक सामग्री र चन्द्र मेवालाल माविलाई इन्भर्टर हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वगर्भनर शेमराज शाक्यले विद्यालयलाई शुक्रबार ती सामग्री हस्तान्तरण गरेका हुन् ।
प्रमुख अतिथि शाक्यले विगतमा विद्युत सेवा विस्तार नभएकै बेला लायन्स क्लबले जुम्लामा उज्यालो कार्यक्रम अन्तर्गत दुई सय वटा सोलार बत्ती सहयोग गरेको स्मरण गर्र्दै हरेक विपद् सामाजिक सेवाका क्षेत्रमा लायन्सकर्मीको उल्लेखनीय योगदान रहेको चर्चा गरे ।
सोही अवसरमा लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफका अध्यक्ष डा.बद्री चापागाईले लायन्स क्लब अफ नेपालगन्ज युनिटीका अध्यक्ष वसन्ती रोकायलाई विद्यार्थीका लागि भन्दै चार थान सोलार बत्ती पनि हस्तान्तरण गरेका थिए । अध्यक्ष रोकायले विद्युत सेवाबाट बञ्चित विद्यार्थीलाई सोलार बत्ती उपलब्ध गराउने बताइन् ।
क्लबका अध्यक्ष डा.बद्री चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज युनिटीका चार्टड अध्यक्ष विन्दु चर्र्तीमगर, लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष शंकरप्रसाद खनाल लगायतले सामाजिक सेवाका कार्यमा लायन्स क्लबहरुले संयुक्त कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।