जाडोमा विद्यार्थीलाई लायन्सको न्यानो उपहार

नेपालगन्ज : बाँकेमा जाडो बढिरहेको बेला लायन्सकर्मीले सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो उपहार दिएका छन् ।
१४६औं मेल्भिन जोन्स सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन बुधबार लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभले नेपालगन्ज उपमहानगरपालिका-१८ कारकाँदोमा रहेको देउतादिन माध्यमिक विद्यालयका बाल विकास कक्षा र विशेष कक्षाका विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

लायन्स क्लब इन्टनेशनल डिष्ट्रिक ३२५ एनका निवर्तमान गर्भनर मुकुट ढकाल, डिष्ट्रिकका निवर्तमान सचिव उमा थापा मगरलगायतले विद्यार्थीलाई स्वीटर वितरण गरेका हुन् ।

लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभको पूर्वअध्यक्षसमेत रहेकी उमा थापा मगरले स्व. पिता तिलबहादुर थापा मगरको स्मृतिमा क्लबलाई ३१ वटा स्वीटर उपलब्ध गराएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि निवर्तमान गर्भनर ढकालले लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सले विश्वभर सामाजिक सेवाको नेतृत्व गरेर मनकारीहरुमा सेवा भाव जगाएको स्मरण गरे । उनले विद्यालयलाई विगतमा सहयोग गरेको र आगामी दिनमा पनि लायन्सको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यालयका प्रधानाध्यापक सतिशकुमार हरिजनले जाडो बढिरहेको बेला लायन्स क्लबले वितरण गरेको न्यानो कपडा विद्यार्थीलाई राहात मिलेको बताए । उनले यसअघि पनि विद्यालयका विद्यार्थीलाई लायन्सकर्मीले न्यानो कपडा वितरण गरेको स्मरण गरे ।

लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष शंकरप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स र लियो क्लबका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।