प्रादेशिक महोत्सवमा नृत्य प्रतियोगिता सुरु

नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता सुरु भएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवको दोस्रो दिनदेखि इन्टर स्कुल डान्सिङ स्टार २०८१ सुरु भएको हो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट भए ।
माघ ११–१५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्य प्रतियोगितामा भाग लिनेछन् । माघ १६–१८ गतेसम्म शीर्ष २० जना छनोट हुनेछन् । माघ १९ र २० गते शीर्ष १४ बीच सेमिफिनाले चरणका प्रतिस्पर्धा हुनेछन् । महोत्सव समापन हुने अघिल्लो दिन २१ माघमा शीर्ष १० जनाबीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने फिनालेका बाँकी ७ जनाले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।
महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामूहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय गायकगायीकाले आफ्नो प्रस्तुती दिइरहेका छन् ।
यसैबीच, नेपालगन्जको कारकाँदोस्थित सडक विभाग परिसरमा जारी महोत्सवको दोस्रो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिए । नेपालगन्जसहितका केही पालिकाहरुले दिएकोे चिसो विदाका कारण समेत दर्शकको संख्या बढेको हो ।
महोत्सवको दोस्रो दिन सज्जन धामी, रितु कँडेल र हाउडे माया उपमाबाट परिचित श्रृजना खत्रीको बेजोड प्रस्तुती रह्यो । उनीहरुले चर्चित गीत गाएर दर्शक तथा अतिथिहरुलाई छमछमी नचाए ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको तेस्रो दिन शनिबार लोकदोहोरी गायिका ज्योति मगरसहित हास्यव्यङ्ग्य कलाकार दमन रुपाखेती र गजलकार थानेश्वर गौतमको प्रस्तुती रहनेछ । बिहीबारदेखि सुरु भएको महोत्सव २२ माघसम्म सञ्चालन हुनेछन् । महोत्सवमा स्थानीय उत्पादनसहितका ३५० वटा स्टल रहेका छन् ।