नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा अध्यक्ष धामीलाई महासंघ सदस्यको उम्मेदवार घोषणा
नेपालगन्ज : नेपालगन्ज उद्योेग वाणिज्य संघले अध्यक्ष टंकबहादुर धामीलाई नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी प्रदेश (भूगोल) केन्द्रिय कार्यकारिणी सदस्यमा उम्मेदवार घोषणा गरेको छ ।
संघको आइतबार नेपालगन्जमा सम्पन्न ४४औं कार्य समिति बैठकले अध्यक्ष धामीलाई उम्मेदवार घोषणा गर्दै मतदानका लागि सम्पूर्ण उद्योग वाणिज्य संघसँग अपील पनि गरेको छ ।
संघले सदस्यको उम्मेदवार घोषणा गरे लगत्तै धामीले पनि भिडियो सन्देशमार्फत भोटका लागि अपील गरेका छन् । उनले भनेका छन्, ‘महासंघमार्फत राज्यलाई झकझकाउने र निजी क्षेत्रलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने कुरा जोडदार रुपमा उठाउने छु । खबरदारी गर्ने त्यो ठाउँमा पुग्न तपाईले मतदान मार्फत मलाई सहयोग गरेर बहुमतका साथ विजयी बनाउनु हुनेछ भन्ने पूर्ण आशा गरेको छु ।’
महासंघको आगामी २९ र ३० चैत्रमा काठमाडौंमा ६०औं वार्षिक साधारणसभा तथा चुनावी अधिवेशन हुँदैछ । २४ मतदाता रहेको लुम्बिनी प्रदेशबाट दुई जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।









