बाँकेका पत्रकारलाई मोफसलको पत्रकारिताबारे चिन्ता
नेपालगन्ज : मोफसलमा पत्रकारिताको दीगोपना र आयआर्जनबारे बाँकेका पत्रकारले चिन्ता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवसको अवसरमा सोमबार बाँके शाखाले नेपालगन्जमा आयोजना गरेको स्थानीय पत्रकारिताका चुनौती विषयक अन्तरक्रिया कार्यक्रमका वक्ता पत्रकारले मोफसलका पत्रकारका लागि आयआर्जनका क्षेत्र साँघुरिँदै गएकाले दीगोपनामा समस्या रहेको एकमत जनाएका हुन् ।
विगतमा रहरले विशुद्ध सेवामूलक पत्रकारिता पेशाको अभ्यास गरे पनि पत्रकारितामा व्यवसायिकतासँगै जिविकोपार्जन सहज बने पनि पछिल्लो समय पेशागत सुरक्षा जोखिममा रहेको उनीहरुको तर्क थियो ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका उपाध्यक्ष तिलक गाउँलेको अध्यक्षता र अर्का उपाध्यक्ष करुणा शाहले स्वागत गरेको कार्यक्रममा महासंंघका पूर्वअध्यक्षहरु नीरज गौतम, प्रेम केसी, रुद्र सुवेदी, अन्नपूर्ण पोस्ट् दैनिकका उपसम्पादक तथा मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाल, अकोराबका केन्द्रीय सदस्य मो.आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी र पत्रकार आशिष गुप्ता लगायतले सामाजिक सञ्जालका माध्यमबाट गरिने सञ्चार कार्यले पत्रकारिता क्षेत्र बद्नाम भइरहेकाले सरोकारवालालाई बुझाउन जरुरी रहेको बताएका थिए । वक्ताहरुले पत्रकारले मिडियाको दीगोपनाका लागि डिजिटल प्लेट फर्मलाई आत्मसात गर्न सके आम्दानीको स्रोत बढाउन सकिनेमा पनि जोड दिएका थिए ।








