नेउलापुर साना किसान कृषि सहकारी भुरिगाउँको ४ महिनादेखि खाता र मलको कोटा रोक्का

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकाको नेउलापुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको चार महिनादेखि खाता रोक्का भएको छ ।
सहकारीका अध्यक्ष देवीदत्त गौतम नेतृत्वमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति अन्तर समूहका पदाधिकारी, पूर्वसञ्चालक, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमिति, समूहका अध्यक्ष र शेयर सदस्यहरूले सोमबार संस्थाको बैंक खाता र मलको कोटा रोक्का तत्काल फुकुवाको माग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा संस्थाको सबै बैंक खाता तत्काल प्रभावबाट फुकुवा गरियोस्, सदस्यहरूको बचत तथा कर्जा कारोबार बिना अवरोध सञ्चालन गर्न दिइयोस्, यस्ता अवैधानिक तथा एकतर्फी हस्तक्षेप तुरुन्त रोकियोस् र किसानले पाउने मल तत्काल खुला गरियोस भनिएको छ ।
सहकारी २७ पुस २०८२ मा सम्पन्न साधारणसभामा ५६ प्रतिशत भन्दा बढि सदस्यको उपस्थितिमा निर्विबाद सर्वसम्मत् रुपमा चयन भएको थियो । ज्ञापन पत्रमा ठाकुरबाबा नगरपालिकाले कुनै लिखित जानकारी, कारण स्पष्टिकरण वा विधिसम्मत प्रक्रिया पूरा नगरी संस्थाका विभिन्न बैंक खाताहरू रोक्का गरिएको तथा विगत ४ महिनादेखि किसानहरूलाई मल, बिक्रि वितरण सेवा समेत अवरुद्ध गरिएको कार्य स्पष्ट रूपमा सदस्य तथा किसानको हितविपरीत रहेको ज्ञापन जनाइएको छ । एक हजार ९४९ सदस्य रहेको संस्थाको करिब २७ करोड ५७ लाख रुपैयाँको कारोबार भइरहेको छ ।










