महिला पत्रकार र महिला नेतृले हत्यारालाई कारबाही माग्दै सिडियोलाई बुझाए ज्ञापन पत्र
समाचार सारांश
- नेपालगन्ज–१२ की २३ वर्षीया सिर्जना मगरलाई आगो लगाएर हत्या गरिएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै महिला पत्रकार र महिला नेतृहरूले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन्।
- पत्रकार संगठन तथा अखिल नेपाल महिला संघका प्रतिनिधिहरूले पीडितकी ३ वर्षीया छोरीको पालनपोषण र शिक्षाका लागि क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरेका छन्।
- घटनामा संलग्न भएको आरोपमा मृतकका प्रेमी मोहम्मद आरिफ ढपालीसहित ३ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
नेपालगन्ज : बाँकेमा कार्यरत महिला पत्रकार र महिला नेतृहरुले आगो लगाएर हत्या गरिएकी नेपालगन्ज १२ की सिर्जना मगरका हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
बाँकेमा क्रियाशील पत्रकारका संस्थाहरु नेपाल पत्रकार महासंघ महिला विभाग, क्रियाशील पत्रकार महिला र सञ्चारिका समूहले शुक्रबार संयुक्त रुपमा बाँकेका प्रजिअ दिलकुमार तामाङलाई मगरलार्इ प्रेमीले आगो लगाएर मारेको घटनाप्रति ध्यानकर्षण गराएका हुन् ।
ज्ञापन पत्र बुझाउनेहरुमा बरिष्ठ पत्रकार अछरी पोखरेल नेपाल पत्रकार महासंघ उपाध्यक्ष तथा महिला विभाग प्रमुख करुणा शाह, क्रियाशील पत्रकार महिला बाँकेका अध्यक्ष सावित्री गिरी, सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, विविसी संवाददाता विमला चौधरी, क्रियाशील पत्रकार महिलाका सचिव निशु जोशी सचिव लगायत दुई दर्जन पत्रकार महिलाको उपस्थिति रहेको थियो । ज्ञापन पत्रका मृतक मगरकी ३ वर्षकी छोरीको लालनपालन र शिक्षादीक्षाको मागसहित क्षतिपूर्तिको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराइएको छ । प्रजिअ तामाङले आफूले ज्ञापन पत्र गृह मन्त्रालयमा पठाउने बताउनु भयो ।
त्यसैगरी शुक्रबार नै अखिल नेपाल महिला संघ जिल्ला कमिटी बाँकेले पनि मृतक मगरको परिवारलाई न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्र बुझाउनेमा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य एवं बाँके इन्चार्ज अछरी पोखरेल, अनेमसघं बाँके जिल्ला कमिटी अध्यक्ष मीना सुवेदी ढकाल, निवर्तमान उपाध्यक्ष इता शर्मा, अनेमसंघ युवा कमिटी बाँकेका अध्यक्ष विष्ना बस्नेत, अनेमसंघ नेपालगन्ज उपमहानगर पालिका नगर कमिटी बाँकेका अध्यक्ष रीना पौडेल, द्वन्द्व पीडित तथा एकल महिला सन्जालका केन्द्रिय महासचिव एकमाया विक, अनेमसंघ जिल्ला कमिटि सदस्य रमा गहतराज लगायतका महिलाको सहभागिता रहेको थियो ।

गत १४ चैत्रमा नेपालगन्ज १२ कोरियनपुरमा २३ वर्षीया मगरको आगोले जलेको अवस्थामा शव फेला परेको थियो । मगरका परिवारको किटानी जाहेरीपछि प्रहरीले उनका प्रेमी २४ वर्षीय मोहम्मद आरिफ ढपालीसहित ३ जनालाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिरहेको छ ।









