सम्पादक खनाललाई सम्मान
नेपालगन्ज : मेरोखुसी डटकमका सम्पादक शंकरप्रसाद खनाललाई सम्मान गरिएको छ । खनाल अन्नपूर्ण पोस्ट् दैनिकमा पनि कार्यरत हुनुहुन्छ ।
जनमत त्रैमासिक रक्तदानको ७१औं श्रृङ्खलाको अवसरमा बाँकेको जनमत अद्र्धसाप्ताहिक पत्रिका र गोपाल नीना फाउण्डेशन नेपालले शनिबार नेपालगन्जमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा खनाललाई जनतालाई रक्तदान गर्न उत्प्रेरित गर्र्ने खालका समाचार लेखेको र आफै पनि नियमित रक्तदाता रहेको भन्दै जनमत सम्पादक पूर्णलाल चुके, गोपाल नीना फाउण्डेशनका अध्यक्ष डा.गौरव श्रेष्ठ, शतक रक्तदाता पत्रकार पवन जैसवाललगायतले सम्मान गर्नु भएको हो । जनमतले पत्रिकाको रजत वर्षको अवसरमा २०६३ सालमा सुरु गरेको त्रैमासिक रक्तदानको दोस्रो श्रृङ्खलादेखि खनालले रक्तदान गर्दै आउनु भएको छ । खनालले अहिलेसम्म झन्डै ४० पटक रगत दान गरिसक्नु भएको छ ।
सोही अवसरमा दैनिक नेपालगन्ज पत्रिकाका प्रधान सम्पादक झलक गैरे, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष प्रेम लम्साल, स्वयंसेवी रक्तदाता समाज राप्तीसोनारी समितिका अध्यक्ष अमृता केसी र राप्तीसोनारी गाउँपालिका ६ का वडा अध्यक्ष लवराज खरेललाई सम्मान गरिएको थियो ।









