होटल पौवाले १०औँ वार्षिकोत्सवमा ‘स्वाद उत्सव’ र सामाजिक सेवा गर्दै
समाचार सारांश
- १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार
- चैत्र २६, २७ र २८ गते स्वाद उत्सव कार्यक्रम गर्दै, ४० हजारभन्दा बढीलाई निमन्त्रणा
- चैत्र ३० गते ‘शुभकामना साँझ, गायक कमल खत्री र गायीका समीक्षा अधिकारीको प्रस्तुती रहने, प्रवेश निःशुल्क
नेपालगन्ज : हस्पिटालिटी क्षेत्र (होटल र रेष्टुरेन्ट)मा नेपाली ‘टिपिकल स्वाद’को पहिचान बनाएको पौवा ग्रुपले १० वर्ष पूरा गरेको छ । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको होटल पौवा प्रालिले वार्षिकोत्सवको अवसरमा ‘स्वाद उत्सव’, सामाजिक सेवा, लगानी सम्मेलन लगायतका विविध कार्यक्रम गर्दैछ ।
होटलले वार्षिकोत्सव बारे जानकारी दिन मंगलबार नेपालगन्जमा पत्रकारबीच अन्तरक्रियात्मक भेटघाट गरेको थियो । सो अवसरमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले १९ जनाको लगानीबाट सुरु भएको पौवामा २५० बढी लगानीकर्ता १ हजार बढी कर्मचारी र २० वटा शाखा विस्तार भएको जानकारी दिए । उनले १० वर्षमा १ सय शाखाको लक्ष्यका साथ अगाडि बढेको बताए ।
जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल नारा रहेको पौवाले नेपाली भाषा, संस्कृति तथा रैथाने खानाको संरक्षण र प्रवद्र्धन गरिरहेको छ । नेपाली स्वाद, नेपाली आतिथ्य र नेपाली परिकारलाई देश विदेशमा ब्राण्डिङ गर्ने लक्ष्य लिएर सेवा दिँदै आएको पौवाले वार्षिकोत्सवको अवसरमा देशभर रहेका सम्पूर्ण शाखाहरूमा चैत्र २६, २७ र २८ गते स्वाद उत्सव कार्यक्रम गर्दैछ । उत्सवमा नेपाली रैथाने स्वाद लिएर ग्राहकहरूलाई छुट्टै अनुभव र आनन्द प्रदान गर्ने कार्यक्रम राखिएको होटल पौवा नेपालगन्जका महाप्रबन्धक गिरीराज पाण्डेले बताए । कार्यक्रममा सहभागी हुन देशभरका शाखाहरूबाट ४० हजारभन्दा बढी निमन्त्रणा गरिएको पाण्डेले बताए ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले आफ्ना लगानीकर्ता तथा सहयात्रीहरूसँग भावी रणनीति र विस्तार योजनाबारे छलफल गर्ने उद्देश्यले ‘बितायौं बालापन’ अवधारणामा चैत्र २८ गते भैरहवा शाखामा लगानी सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ । एक दशकसम्म प्राप्त अभूतपूर्व विश्वासका आधारमा शताब्दी चुम्ने लक्ष्य ‘मिसन १००’ लाई सफल बनाउन सो लगानी सम्मेलन आयोजना गरिएको हो ।
नयाँ वर्षको स्वागतमा चैत्र ३० गतेको ‘शुभकामना साँझ—२०८३’आयोजना गर्दैछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा आधुनिक गायक कमल खत्री र गायीका समीक्षा अधिकारीको प्रस्तुती रहनेछ । ग्राहकले सो कार्यक्रममा स्थानीय मोहिनी डान्स ग्रुपको सांगीतिक प्रस्तुती र गायक प्रिन्स ठकुरीको समेत प्रस्तुती रहनेछ । कम्तीमा एक सय रुपैयाँ तिरेर खाजा खान सक्ने व्यवस्था मिलाइएको छ ।
स्थापना दिवसका अवसरमा देशैभरका शाखाहरुले विभिन्न सामाजिक कार्य गर्ने तय भएको छ । नेपालगन्ज शाखाले मानवसेवा आश्रमका आश्रितहरुलाई खाना खुवाउने, रक्तदानलगायतका सेवाका कार्यक्रम रहेका छन् ।
पौवाले ‘स्वाद उत्सव’ कार्यक्रम तथा ‘शुभकामना साँझ—२०८३’मा सहभागी भई नेपाली स्वाद र आतिथ्यको अनुभव तथा मनोरञ्जन लिन सम्पूर्ण ग्राहक तथा सरोकारवालालाई हार्दिक आमन्त्रण गरेको छ ।









