सीतापुर युनाइटेड र राइजिङ स्टार दोस्रो योगिनी गोल्डकप फुटबलको फाइनलमा

नेपालगन्ज : दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा सीतापुर युनाइटेड र राइजिङ स्टार क्लब पुगेका छन् । उपाधिका लागि आइतबार यी दुई टिमबीचप्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सीतापुर युनाइटेडले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई १–० ले पराजित गरेको थियो । बाँके खजुरा गाउँपालिका वडा नम्बर–२ स्थित योगिनी माविको खेल मैदानमा भएको खेलमा घरेलु टोली विरुद्ध शम्भु थारुले गरेको एकमात्र गोल निर्णायक बन्यो । विपक्षी रक्षक अलमलिएको अवस्थामा थारुले २६औं मिनेटमा गोल गर्नुभयो ।
खेलमा सीतापुर युनाइटेडका कप्तान राम ओली प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई प्रतियोगितामा आर्थिक सहयोग गर्ने मोती सुनार र पार्वती शाहीले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा राइजिङ स्टार क्लबले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको थियो । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टीमा राइजिङ स्टारको तर्फबाट प्रख्यात परियार, क्षितिज रानामगर र समीर कसेराले गोल गर्नु भएको थियो । योगिनी ‘बी’ को तर्फबाट निराजनजंग शाहीले मात्र गोल गर्नुभयो । खेलमा राइजिङ स्टारका गोलकिपर गोकर्ण पुनले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नुभयो । उहाँलाई प्रतियोगिता आयोजना गर्न सहयोग गर्नु हुने पिमति राना क्षेत्री र नन्दबहादुर खत्रीले पुरस्कृत गर्नु भयो ।
प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् ।