बाँके र दाङमा विपद् व्यवस्थापनका सफल अभ्यासबारे चर्चा

नेपालगन्ज : बाँके र दाङ जिल्लामा विपद् व्यवस्थापनका सफल अभ्यासबारे नेपालगन्जमा चर्चा गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले सञ्चालन गरेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर)ले मंगलबार नेपालगन्जमा आयोजना गरेको मिडिया एड्भोकेसी सम्बन्धी कार्यक्रममा बाँकेको नेपालगन्ज उपमहानगरपालिका र दाङको राप्ती गाउँपालिकामा विपद् व्यवस्थापनमा भइरहेको असल अभ्यासबारे छलफल गरिएको हो ।
कार्यक्रममा पत्रकार रुपा गहतराज र निशु जोशीले बाँके जिल्लामा विपद् व्यवस्थापनका असल अभ्यासबारे प्रस्तुतीकरण गर्नु भएको थियो । अध्ययनमा आधारित प्रस्तुतीमा जिल्लामा फायर बाइकदेखि स्वयं सेवक उत्पादन गरेर विपद् व्यवस्थापनको नयाँ अभ्यासबारे उहाँहरुले जानकारी दिनु भएको थियो ।

सो अवसरमा नेपालगन्ज उपमहानगरपालिका प्र्रमुख प्रशान्त विष्ट र राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पालिका तहमा भएका असल अभ्यासबारे जानकारी गराउनु भएको थियो । अध्यक्ष विष्टले ट््याक्टरमा ट्यांकर जोडेर दमकल निर्माण गरेको, चुरे क्षेत्रमा पानी रिचार्जका लागि पोखरी बनाएको बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराज आचार्यले विपद् व्यवस्थापनमा तीन तहकै सरकारको जिम्मेवारी र विपद् न्यूनिकरणका लागि चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, फातिमा फाउण्डेशनका अध्यक्ष मैमुना सिद्धिकी, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य तथा विपद् व्यवस्थापन उपसमितिका संयोजक टीकामणि उपाध्याय, भावुकजंग थापा लगायत विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा भइरहेका कार्यहरू र आगामी रणनीतिबारे सुझाव तथा धारणा राख्नु भएको थियो ।