लुम्बिनी प्रदेश बजेट : लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई ११ करोड

नेपालगन्ज : लुुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रदेशको गौरवको आयोजनाको रुपमा विश्वविद्यालयको नवप्रवर्तन केन्द्रसहितको भौतिक, शैक्षिक तथा प्रविधिजन्य पूर्वाधार र व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको हो ।
प्रदेश सरकारले ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ तथा चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। चालु आवमा प्रदेश सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम हो ।