एकै थलोमा २१ खेलाडी तथा खेलकर्मीलाई सम्मान

नेपालगन्ज : बाँकेमा खेलकुदको माध्यमबाट योगदान दिने २१ खेलाडी तथा खेलकर्मीलाई नेपालगन्जमा सम्मान गरिएको छ ।
महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले जुमा स्पोट्र्‌स क्लब नेपालगन्जको सहकार्य शनिबार आयोजना गरेको खेलकुदले बनाउने समाज विषयक एक विमर्श कार्यक्रममा सम्मान गरिएको हो ।
रतन कुमार टण्डन, अशोकजंग थापा, अजितकुमार शर्मा, सुरेन्द्रबहादुर हमाल, सच्चिदानन्द चौवे, समसुद्दिन सिद्दिकी, पार्वती थापा, अनिता श्रेष्ठ, लेखबहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो । त्यसैगरी, चन्द्रबहादुर गुरुङ, गोविन्दप्रसाद श्रेष्ठ, राकेश श्रीवास्तव, गोबर्धन सिंह, शान्ति सिंह क्षेत्री, विक्रमजंग थापा, जयन्तकुमार शर्मा, राजुराज शाही, टीएस ठकुरी, नेरी थापा, डा.प्रतिक श्रेष्ठ, सन्तोष काजी शाक्यलाई पनि सम्मान गरिएको थियो ।
पुस्तकालयको सामाजिक सरोकार उपसमितिका संयोजक नरेन्द्रजंग पिटरको अध्यक्षता सम्पन्न कार्यक्रममा पूर्वखेलाडी समाज नेपालगन्जका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठ, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, वरिष्ठ साहित्यकार सनत रेग्मी तथा पूर्व युवा तथा खेलकुद मन्त्री गहतराजले कदरपत्र प्रदान गर्नु भएको थियो ।
विमर्श कार्यक्रममा वक्ताहरुले खेलकुदले समाजलाई जोड्नु का साथै शारीरिक, मानसिक एवं संवेगात्मक रुपमा सकारात्मक र सबल समाज बनाउन सघाउने धारणा राख्नु भएको थियो । वक्ताहरुले खेलकुदको विकासका लागि राज्यले खेलाडीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभुति दिनुपर्ने पनि बताए । अहिले राज्यका तर्फबाट खेलाडीहरुलाई आर्थिक सुरक्षाको प्रत्याभूति हुन नसकेका कारण खेलाडीहरु पलायन हुने अवस्था रहेको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्र हमाल, तत्कालीन मध्यपश्चिम खेलकुद विकास समिति अध्यक्ष भीम ओली, समसुद्दिन सिद्दिकी, शान्ति सिंह, नेपालगन्ज म्याराथनका संयोजक टीएस ठकुरी, रतनकुमार टण्डन, अजितकुमार शर्मा लगायतले खेल क्षेत्रको विकास र खेलाडीको हितका विषयमा धारणा राख्नु भएको थियो ।