जैविकमार्ग कि पाटेबाघबाट ‘मृत्युमार्ग’ !

शंकरप्रसाद खनाल । नेपालगन्ज
बर्दियाको खाता जैविक मार्गमा पर्ने मधुवन नगरपालिका वडा नं. ५ का शक्तिपुरका धनसरी गुरुङ र समुद्री बुढा मगरलाई ६ चैत्र २०७९ मा पाटेबाघले एकैदिन आक्रमण गरेर ज्यान लियो । ‘बाख्राका लागि जामुनको झाला काट्न बुढी रुखमा चढेकी थिइन् । झर्ने बित्तिकै पाटेबाघले झम्ट्यो’, उनका पति बलबहादुर खड्का ती दुःखद क्षण सम्झन्छन्, ‘कालो लुगा लगाएकी धनसरीले बाघले देखेको रहेनछ । उनी चिच्चाएपछि मात्र आक्रमण गरेको थियो । दुबैै जनालाई मारेर एकै ठाउँमा राखेको अवस्थामा भेटाएका थियौं ।’ यस अघि ११ कार्तिक २०७७ मा च्याउ टिप्न गएका मधुवन–३ रमेश चौैधरी र दिनेश थारु (सालाभिना)लाई पनि एकैदिन पाटेबाघले जैविक मार्गमै मारेको थियो ।
बाँकेको कम्दी जैविक मार्गमा त पर्ने जलहन सामुदायिक वनमा राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्टलाई २२ पुस २०७८ र घटनाको दुई दिनपछि २४ पुसमा राप्तीसोनारी गाउँपालिका–६ की चाँदनी थारुको पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो ।
बर्दियाको खाता जैविक मार्ग र बाँकेको कम्दी जैविक मार्गमा पाटेबाघको आक्रमणबाट ज्यान गएका यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । पाटेबाघको मुख्य वासस्थानमध्येको बाँके–बर्दिया कम्प्लेक्सको जैविक मार्गमा वन्यजन्तुको आक्रमण बढ्दो छ । नेपाल–भारतका निकुञ्ज–आरक्षसँग वन्यजन्तुको आवातजावत सहज बनाउने उद्देश्यले बाँके र बर्दियामा स्थापना गरिएका कम्दी र खाता जैविक मार्ग स्थानीयका लागि ‘मृत्यु मार्ग’ बनिरहेको मानव वन्यजन्तु द्वन्द्वका ६ वर्षको तथ्याङ्कले देखाउँछ । यो अवधिमा बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणबाट ४७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये झन्डै आधा अर्थात २० जनाको मृत्यु त कम्दी र खाता जैविक मार्गमै भएको छ ।
बाँके जिल्लामा २०७८ सालयता पाटेबाघको आक्रमणमा परी १० जनाले ज्यान गुमाइसकेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज कँडेलका अनुुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ४ जनाको वन्यजन्तु आक्रमणमा मृत्यु भएको छ । यही अवधिमा कम्दी जैविक मार्गमा पर्ने राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका सामुदायिक वनमा ६ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय बाँकेको रेकर्डबाट देखिन्छ । जिल्लामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने ६० प्रतिशत कम्दी जैविक मार्गका रहेका छन् ।
कम्दी जैविक मार्गमा २०७८ सालमा पाँच महिनामा मात्र्रै ५ जनाको पाटेबाघले ज्यान लिएको थियो । १८ फागुन २०७८ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले राप्तीसोनारी गाउँपालिका–६ स्थित राप्तीपीडित सामुदायिक वनबाट नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिएको थियो । झन्डै २ हप्तादेखि कोषको टोली बाघ नियन्त्रणका लागि खटेको थियो । सो बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको थियो ।
आजभन्दा १६ वर्र्ष अघि बाँके निकुञ्ज स्थापना भएसँगै कम्दी जैविक मार्गको अवधारणा अघि सारिएको थियो । राप्तीसोनारीमा वन क्षेत्र अतिक्रमणमा परेपछि झन्डै एक किलोमिटर वन क्षेत्र जैविक मार्ग सञ्जालबाट खण्डित भएको थियो । राप्तीपीडित सामुदायिक वनको उत्तरमा मसुरिया नजिक राप्ती नदी छ । नदीको पारीपट्टि राप्तीसोनारीकै महादेवपुरी क्षेत्रको राप्तीपीडित सामुदायिक वन र पश्चिममा ढलैयातिर राप्तीपारी डुडुवा गाउँपालिकामा पर्ने मध्यवर्ती क्षेत्रको गोकुल सामुदायिक वन छ । उत्तरमा भारतको सुहेलुवा निकुञ्जसँग जोडिएको नरैनापुर गाउँपालिकाको वन छ । राप्तीपीडित सामुदायिक वनको एक किलोमिटर क्षेत्रफलले मात्र जैविक मार्ग जोड्न बाँकी थियो । जहाँ भूमिहीनले अतिक्रमण गरेर बसेका थिए । सो क्षेत्रको ८५ बिघा क्षेत्रफल अतिक्रमण हटाएर १३ हजार पाँच सय बिरुवा लगाएर जैविक मार्र्ग संरक्षण गरिएको वन उपभोक्ता समूहका मदन बुढा बताउँछन् ।
कम्दी जैविक मार्ग हुँदै बाँके राष्ट्रिय निकुञ्जको बाघ भारतको श्रावस्ती जिल्लाको सुहेलवा वन्यजन्तु आरक्षसम्म पुगेको बाँके निकुञ्ज प्रमुख कँडेल बताउँछन् । उनी भन्छन्, ‘सुहेलवा वन्यजन्तु आरक्षमा ३ वटा मात्र पाटेबाघ छन् । भारतीय अधिकारीहरु ती बाघ नेपालकै भएको दाबी गर्छन् ।’ बाँके निकुञ्जमा भने सन् २०२५ को राष्ट्रिय गणनाले पाटेबाघको संख्या दोब्बर भएर ५१ वटा पुगेको छ ।
बाँकेमा भन्दा जैविक मार्गमा वन्यजन्तुको जोखिम बर्दियामा बढी छ । खाता जैविक मार्ग क्षेत्रमा पर्र्ने मधुवन नगरपालिका र राजापुर नगरपालिकामा नेपालको बस्तीसँगै भारतीय वन क्षेत्र जोडिएको छ । बर्दियामा २०७८ सालदेखि २०८३ सम्म ३७ जनाले वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका छन् । बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ जनाको मृत्यु भयो । खाता जैविक मार्गमा यही अवधिमा १० जनाको वन्यजन्तु काल बन्यो । जिल्लामा कूल वन्यजन्तु आक्रमणबाट मृत्युको २७ प्रतिशत जैविक मार्गको हो ।
बर्दियामा खाता जैविक मार्गमा एक जना गैंडाको आक्रमणबाहेक अरु सबै पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । आजभन्दा २५ वर्ष अघि सन् २००१ मा बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षलाई जोड्ने एक महत्वपूर्ण अन्तर्राष्ट्रिय जैविक मार्गको रुपमा खाता क्षेत्रमा जैविक मार्गको विकास र पुनरुत्थान सुरु भएको थियो । खाता जैविक मार्गमा २९ वटा सामुदायिक र ३ वटा सामुदायिक वन रहेका छन् । बर्दिया निकुञ्जमा पाटेबाघको संख्या १२५ रहेको छ भने भारतकोको तरनियाघाट वन्यजन्तुु आरक्षमा पाटेबाघको संख्या ५९ वटा पाटेबाघ रहेका छन् ।
जैविक मार्ग हुँदै वन्यजन्तुको ओहोरदोहोर हुँदा नेपाल र भारत दुबै देशका नागरिकले सास्ती भोगिरहेका छन् । खाता जैविक मार्गसँगै जोडिएको भारतको बहराइच जिल्लाको अम्बा न्याय पञ्चायतकोे बर्दिया गाउँमा पनि विगत तीन वर्षको अवधिमा पाटेबाघ र हात्तीको आक्रमणमा परी ७ जनालाई ज्यान गुमाइसकेका छन् । पञ्चायतका प्रधान श्यामलाल थारुका अनुसार बर्दिया गाउँका वारिक पठान, देशराज लोध, अवधराम थारु, कौशिला पासी र माया थारुको पाटेबाघको आक्रमणबाट मृृत्यु भएको थियो । त्यसैगरी ब्रिजा चौधरी र प्रेम चौधरीले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए । प्रधान थारु भन्छन्, ‘नेपालबाट आएकै बाघ र हात्तीबाट हाम्रा मान्छे मरेको भन्छन् । बाघ र हात्तीलाई कुन देशको हो भनेर कसरी छुट्टाउने हुन्छ होला ?’
बाघको आक्रमणबाट अम्बा बर्दियाका विजय सिंह घाइते भएका थिए । उनले घाउको खत देखाउँदै भने, ‘नेपालबाटै धेरै बाघ आउँछन् । मोटरसाइकलमै हुँदा ममाथि आक्रमण गरेको थियो । धन्न ज्यान जोगाउन सकें ।’
जैविक मार्गमै बाघको बासस्थान
राष्ट्रिय प्रकृति संरक्षण कोषले खाता जैविक मार्गमा सन् २०२४ को जुनदेखि जुलाइसम्म करिब ३ महिना गरेको अध्ययनमा सो क्षेत्रमा २१ वटा पाटेबाघ ओहोरदोहोर गरेको फेला पारेको थियो । सन् २०२५ को राष्ट्रिय बाघ गणनामा भने खाता जैविक मार्ग क्षेत्रमा ७ वटा बाघ मात्र फेला परेका थिए । २९ वटा सामुदायिक र ३ वटा धार्मिक गरी ३२ वटा सामुदायिक वन रहेको खाता जैविक मार्ग क्षेत्रमा ५ वटा पाटेबाघ त रैथाने नै रहेको खाता समन्वय समितिका अध्यक्ष गुरुङ दाबी गर्छन् ।
नेपालको निकुञ्जबाट वन्यजन्तु जैविक मार्ग हुँदै आरक्षसम्म ओहोेरदोहोर गर्ने गरेको भारतीय पक्ष पनि स्वीकार्छन् । कतरनीया वन्यजीव प्रभाग बहराइच (कतरनीयाघाट रेञ्ज)का क्षेत्रीय वन अधिकारी आशिष गौड नेपालबाट आउने हात्ती र गैंडाले भारतमा हानी गरिरहेको दाबी गर्छन् । ‘हामी कहाँ हात्ती छैन । नेपालबाटै आउँछ । खाता करिडोरबाटै हात्तीको झुण्ड आउँछ र जान्छ । कम्तीमा २०–३० वटादेखि बढीमा ६०–७० वटा हात्ती एकसाथ आउँछन् । गैंडा पनि नेपालबाटै आउने र जाने गर्छन्’, उनले प्रष्ट पारे, ‘यहाँ मान्छे मारे नेपाली हात्तीले मारेको भनिन्छ ।’ समाचार संकलनका क्रममा बर्दिया गाउँमा पाटेबाघ र हात्तीको आक्रमणबाट मृृत्यु भएकोबारे स्थानीयले नेपाली हात्ती र बाघ भएको दाबी गरेका थिए । बर्दिया निकुञ्जबाट बाघ, हात्ती, गैंडा लगायतका वन्यजन्तुु भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसम्म ओहोरदोहोर हुने गरेको बर्दिया निकुञ्जका सूचना अधिकारी महेश न्यौपाने पनि बताउँछन् ।
मधुवन नगरपालिका ३ वडा अध्यक्ष नारायण मल्लको भनाइ पनि गुरुङसँग मेल खान्छ । ‘करिडोरमै घाँसे मैदान र पानीका कृत्रिम पोखरी बनाइएको छ । बाघलाई बस्न सजिलो भयो । जनताले सास्ती भोगिरहेका छन्’, उनको दुःखेसो छ, ‘पाटेबाघ नेपाल र भारत दुबैतिर छ । खाता जैविक मार्गको फाइदा निकुञ्जले मात्र लिएको छ । यहाँका जनता त वन्यजन्तुबाट पीडित मात्र भएका छन् ।’
जैविक मार्ग लक्ष्य अनुसार सफल भए पनि स्थानीयका लागि भने खतरा बनिरहेको छ । वन्यजन्तु आवतजावत सहज बनाउने लक्ष्य राखिएको जैविक मार्ग क्षेत्रको घना जंगल वन्यजन्तुको बासस्थान बनिरहेको छ । मधुवन नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष दिलिप गुरुङ जैविक मार्गलाई मृत्युमार्गको संज्ञा दिन्छन् ।
‘खाता करिडोरमा नै बाघको बासस्थान भएको छ । बाघले बर्सेनि मान्छे मारिरहेको छ’, उनले दुःखेसो पोखे, ‘सामुदायिक वन नहुँदासम्म हामी यहाँबाट धनौरा गाउँ देख्थ्यौं । संरक्षणपछि वन घना भयो । बाघ पनि बस्न थाल्यो । संरक्षित क्षेत्र बन्नुअघि वन्यजन्तु आक्रमणका घटना नै हुँदैनथे । अहिले बर्सेनि समस्या आउने गरेको छ । जंगल जानै डर लाग्ने भएको छ ।’ (स्रोत : अन्नपूर्ण पोस्ट् दैनिक)








