‘सनत रचना कथा सम्मान २०८२’ अभिलाषीलाई
नेपालगन्ज : ‘सनत रचना कथा सम्मान २०८२’ दहाड कथा संग्रहबाट कथाकार नवीन अभिलाषीलाई प्रदान गरिएको छ ।
मध्यपश्चिम स्रष्टा समाज बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र पुरस्कारका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले नगद ११ हजार एक सय ११ रूपैयाँ नगद राशीसहित सम्मानपत्र कथाकार अभिलार्षीलाई हस्तान्तरण गर्नु भएको हो ।
गत वर्ष प्रकाशित कथा संग्रहहरुमध्ये वरिष्ठ साहित्यकार गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनौट समितिले दहाडलाई छनोट गरेको थियो ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुले कथा संग्रह ’दहाड’ मार्फत् अभिलाषीले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थहरू, बहुआयामिक असमानताले उत्पन्न गरेका बिडम्बनाहरू र सामाजिक संरचनाको पिँधमा रहनेहरूका अलिखित संघर्षहरूलाई केन्द्रमा राखिएका कथाहरू सृजना गरी नेपाली साहित्यलाई गुन लगाएको योगदानस्वरुप सम्मान गरिएको जानकारी दिनु भएको थियो ।
कथासंग्रह दहाडमाथि आफ्नो समीक्षकीय टिप्पणी राख्दै समीक्षक भागवत पौडेलले कथा संग्रहमा न्यायको मुद्धा केन्द्रमा रहेको र त्यो न्याय कसले दिने भन्ने प्रश्न छोडेर कथाहरु रचना गरिएका बताउनु भयो। उहाँले अनेक तहको विभेद र असमानताबाट अन्यायमा परेका मानिसहरुका कथाहरु लेखेर कथाकारले समाजका लागि प्रश्नहरु छोडिदिएको बताए । उनले ती प्रश्नहरु जीवित रहँदासम्म कथासंग्रह सान्दर्भिक भैरहने बताउनु भयो ।
सम्मानित भइसकेपछि आफ्नो धारणा राख्दै कथाकार अभिलाषीले आफूले समाजमा विभेदका अनेक तहहरु रहेछन् भन्ने थाहा भएदेखि साहित्यको अध्ययन र लेखनमा रुची लागेको जानकारी दिनुभयोे । दहाडमा आफ्नो समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने कोसिस गरेर लेखेको उहाँको भनाइ थियो ।
सनत रचना कथा सम्मान वरिष्ठ कथाकार रेग्मीले आफू र आफ्नी जीवनसंगीनी रचना रेग्मीको नाममा स्थापना गरेको हो भने सम्मान हस्तान्तरणको बन्दोबस्त मध्यपश्चिम स्रष्टा समाजले गर्दै आएको छ ।
उक्त सम्मान यसअघि पहिलो वर्ष २०७९ सालमा कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’का लागि कथाकार दिला शाहलाई प्रदान गरिएको थियो भने २०८० सालको ‘कालो गुलाब’का लागि कथाकार गोपाल अश्क र २०८१ सालको ‘बहुरुपी’ कथासंग्रहका लागि कथाकार श्रेयज सुवेदीलाई प्रदान गरिएको थियो ।








