थारू महिला उत्थान केन्द्रको ३१औँ वार्षिक साधारणसभा सम्पन्न

संजय आचार्य । गुलरिया
बर्दियाको थारू महिला उत्थान केन्द्रको ३१औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष राजकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजुकुमार खडकाको प्रमुख अतिथिका रूपमा उपस्तिथि रहेको थियो।
साधारणसभामा संस्थाले सञ्चालन गरेका विभिन्न गतिविधि, भावी रणनीति, लैङ्गिक समानता र महिला सशक्तीकरणका विषयमा छलफल गरिएको थियो। भने संस्थाद्वारा सञ्चालित विभिन्न परियोजनाको आय–व्यय विवरण प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित बजेट समेत सार्वजनिक गरिएको थियो।
प्रस्तुत विवरण अनुसार समुदाय सशक्तिकरण तथा विकासका लागि स्थानीय पहल परियोजना अन्तर्गत ४८ लाख ३६ हजार ९ सय ६८ रुपैयाँ आय र ४६ लाख ९६ हजार ६८२ रुपैैयाँ खर्च भएको छ। आगामी आर्थिक वर्षका लागि यस परियोजनामा १३ लाख ८३ हजार ५ सय ६ रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
यसैगरी ‘रुपान्तरणका लागि हाम्रो साहस’ परियोजनामा १ करोड १५ लाख २२ हजार २२ रुपैयाँ आय र १ करोड १८ लाख ३७ हजार २ सय ५९ रुपैयाँ खर्च भएको छ। आगामी आवका लागि यस परियोजनामा ९३ लाख ७१ हजार ९ सय ६० रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।

भिटा परियोजना अन्तर्गत ९८ लाख ६१ हजार ४ सय ४९ रुपैयाँ आय र ९७ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको जनाइएको छ।
यसैगरी, जीवनका लागि पोषण परियोजनामा १ करोड १५ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ आय र ९१ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको छ। आगामी आर्थिक वर्षका लागि रु। २४ लाख ७७ हजार ७ सय ९७ बजेट प्रस्ताव गरिएको छ।जलाधार व्यवस्थापनमा दिगो पारिस्थितिक प्रणाली संरक्षण र आदिवासी जलवायु अनुकूलन परियोजनामा ९ लाख ९४ हजार ६ सय २१ रुपैयाँ आय र १७ लाख ४७ हजार ९ सय ६४ रुपैयाँ खर्च भएको छ। आगामी आवका लागि १२ लाख ३५ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ।
त्यस्तै, नवीकरणीय ऊर्जामा थारू महिलाहरूको पहुँच परियोजनामा ५९ लाख ३७ हजार ८ सय ९ रुपैयाँ आय र ६१ लाख ५७ हजार २ सय ९९ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।
संस्थाकी संस्थापक सदस्य एवं कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले विगत लामो समयदेखि गाउँघरका महिलाहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन थारू महिला उत्थान केन्द्र बर्दियाले उल्लेखनीय योगदान गरिरहेको बताउनु भयो । विगत लामो समयदेखि जिल्लाभरका आठवटै स्थानीय तहमा कार्य विस्तार गरी कृषि, वातावरण, आयमूलक सीप विकास, समूह सशक्तिकरण र सामाजिक सचेतनाजस्ता विविध क्षेत्रमा प्रभावकारी रुपमा संस्थाले काम गर्दै आएको थारुले बताउनु भयो ।
सभाले संस्थाका आगामी कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै महिला सशक्तिकरण, लैङ्गिक समानता तथा समुदायको समग्र विकासका क्षेत्रमा आफ्नो भूमिका विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा परियोजना संयोजकहरुबाट वर्षैभरी गरिएको कामको बारेमा संस्थाका सदस्यहरुलाइ जानकारी गराइएको थियो भने आगामी रणनीतीबारे छलफल समेत गरिएको थियो ।