सुनौलो महिला सहकारीको शेयर पूँजी र कर्जा लगानी वृद्धि
संजय आचार्य । गुलरिया
बर्दिया जिल्लाको सुनौलो महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शेयर पूँजी र कर्जा लगानी वृद्धि भएको छ । सहकारीको शनिबार गुलरियामा सम्पन्न १८औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष लक्ष्मी खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को कार्यप्रगति विवरण तथा वित्तीय प्रतिवेदनमा शेयर पूँजी, बचत संकलन तथा कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेको उल्लेख गर्नु भएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म संस्थामा १ हजार २ सय ८९ जना शेयर सदस्य रहेकोमा चालु आर्थिक वर्षमा ३८ जना नयाँ सदस्य थपिएसँगै सदस्य संख्या १ हजार ३२७ पुगेको छ। त्यस्तै, संस्थाको शेयर पूँजी ५१ लाख २४ हजार ४ सय रुपैयाँबाट बढेर ५७ लाख २४ हजार ९ सय रुपैयाँ पुगेको कोषाध्यक्ष खड्काले जानकारी दिनुभयो।
बचततर्फ पनि संस्थाले वृद्धि हासिल गरेको छ। गत आर्थिक वर्षमा ३ करोड १७ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ ७४ पैसा बचत संकलन भएकोमा चालु आर्थिक वर्ष २०८२र०८३ को असार मसान्तसम्म कुल बचत ३ करोड ७२ लाख ७३ हजार ९ सय ३१ पुगेको छ।
त्यसैगरी, सदस्यहरूको आवश्यकतालाई ध्यानमा राख्दै समूह तथा धितो जमानीमा गरिएको कर्जा लगानीसमेत बढेको छ। गत वर्ष २ करोड ४४ लाख ४४ हजार ६ सय १५ रुपैयाँ ५२ पैसा रहेको कर्जा लगानी चालु आर्थिक वर्षको असार मसान्तसम्म बढेर ३ करोड १ लाख ६० हजार ३ सय ५६ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाको जगेडा कोषसमेत वृद्धि भएको छ। गत वर्ष ३५ लाख ५ हजार ७ सय ४१ रुपैयाँ ५ पैसा रहेको जगेडा कोष चालु आर्थिक वर्षमा बढेर ३८ लाख ३४ हजार १ सय ४८ रुपैयाँ पुगेको छ। अन्य कोषसहित संस्थाको कुल कोष रकम ८ लाख ७४ हजार १ सय ८२ रुपैयाँ पुगेको जनाइएको छ।
आर्थिक वर्ष २०८२र०८३ मा संस्थाले ५ लाख ७० हजार ६ सय ९६ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। सो मुनाफाबाट शेयर सदस्यलाई प्रति कित्ता रु। १०० को शेयरमा ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरिएको छ। बाँकी रकम कर्मचारी बोनस कोष, समुदाय विकास कोष, सहकारी शिक्षा कोष तथा सहकारी प्रबर्द्धन कोषमा विभाजन गरिएको प्रतिवेदनमा उल्लेख छ।
साधारणसभाका अवसरमा उत्कृष्ट ४ जना उद्यमी महिलालाई सम्मान गर्नुका साथै उत्कृष्ट १० जना बालबालिका बचतकर्तालाई सम्मान गरिएको थियो। स्थापनाकालदेखि नै संस्थाको विकासमा योगदान पुर्याउँदै आउनुभएकी सदस्य जहुरा धोवीलाई दोसल्ला ओढाएर सम्मान गरिएको संस्थाकी अध्यक्ष खुमाकुमारी पोख्रेलले बताउनुभयो।
अध्यक्ष पोख्रेलले संस्थाले सदस्यको आर्थिक तथा सामाजिक सशक्तिकरणसँगै सहकारीको संस्थागत विकास, पारदर्शिता र उद्यमशीलतालाई प्राथमिकतामा राखेर आगामी कार्यक्रम अघि बढाउने बताउनुभयो।
कार्यक्रम प्रमुख अतिथी जिल्ला सहकारी संघ बर्दियाकी सचिव इन्दिरा सुवेदीले सहकारी नियमन प्राधिकरणको परिपत्रलार्इ अक्षरशः पालना गर्दै सुनौलो महिला विकास बहुउद्देशीय सहकारी संस्थाको साधारणसभा सम्पन्न गरेकोमा प्रशंसा गर्दै संस्थाको दृढ संकल्प र सदस्यहरूको उच्च मनोबलले गर्दा नै संस्था यो उचाइमा पुग्न सफल भएको समेत बताउनु भयो ।









