एनपीएल : लुम्बिनी अपराजित हुँदै शीर्ष स्थानमा

नेपालगन्ज : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स लगातार अपराजित हुँदै शीर्ष स्थानमा पुगेको छ ।
त्रिवि स्टेडियम कीर्तिपुरमा बिहीबार भएको १४औँ खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो । यसअघि खेलेका ३ खेलमध्ये लुम्बिनीले वर्षाका कारण एउटा खेलमा बराबरी अंक बाँडे पनि अरु सबै खेल जितेको छ । एनपीएलको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएर जितको खाता खोलेको थियो । सातौँ खेलमा चितवन राइनोज र लुम्बिनी लाइन्सले वर्षाका कारण अंक बाँडेका थिए । १३ औँ खेलमा लुम्बिनी पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको थियो ।
बिहीबारको खेलमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य जनकपुरले ८ विकेटको क्षतिमा १३३ रन मात्र बनाएको थियो ।
लुम्बिनी लायन्स अपराजित रहँदै ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ४ खेलमा ४ अंकसहित विराटनगर किंग्स दोस्रो स्थानमा छ । ३ खेलबाट ४ अंकको कर्णाली याक्स तेस्रो स्थानमा छ । ५ खेलबाट ४ अंकको जनकपुर बोल्ट्स चौथो तथा ४ खेलबाट ४ अंककै सुदूरपश्चिम रोयल्स पाँचौँ स्थानमा छ । ३ खेलबाट ३ अंकको चितवन राइनोज छैटौँ स्थानमा छ । २ खेलबाट २ अंकको काठमाडौँ गोर्खाज सातौँ स्थानमा छ । ३ खेलबाट अंकविहीन पोखरा एभेन्जर्स पुछारमा छ ।

काठमाडौं गोर्खाजको जित
काठमाडौं गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको शानदार जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाडौंले १०.२ ओभर बाँकी छँदै एक विकेट गुमाएर पूरा गर्‍यो। काठमाडौंले ९.४ ओभरमा एक विकेट गुमाएर ८६ रन बनाएर जित दर्ज गरेको हो ।