धनसिंहपुर युवा कप फुटबलको उपाधि सूर्योदय क्लबलाई
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर ८ मा सञ्चालित धनसिंहपुर युवा कप फुटबल प्रतियोगिताको उपाधि सूर्योदय युवा क्लब सूर्यपुरले जितेको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा सूर्योदयले १४ जीआर टीकापुरलाई पेनाल्टी सुटाउटमा पराजित गरेर उपाधिमा कब्जा जमाएको हो ।
निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेएपछि पेनाल्टी सुटाउटमा पुगेको थियो । विजेता सूर्योदयलाई ५१ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड प्रदान गरिएको थियो । उपविजेता १४ जीआर टीकापुरले ३१ हजार रुपैयाँ नगदसहित शिल्ड पायो ।
टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरचीले विजेता टिमलाई पुरस्कार र शिल्ड प्रदान गर्नु भएको थियो । उहाँले युवाहरू राष्ट्रको गहना भएको बताउँदैटीकापुर नगरपालिकाले सधैँ खेलकुद प्रतियोगिता गराउने प्रतिबद्धता जनाउनु भयो ।
विशिष्ट अतिथि वडा नं. ८ का अध्यक्ष दीर्घ ठकुल्लाले खेलाडी र अनुशासन एक अर्काको पर्याय भएको बताउनुभयो। खेलाडी अनुशासित, मर्यादित र लगनशील हुनुपर्ने बताउँदै आफू खेलप्रेमी भएको भनाइ थियो । दीपक बिकको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा समाजसेवी धनसिंह साउँद, शेरबहादुर साउँद, मीनबहादुर कठायत, प्रेम विक, भीम महर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डरलाई जनही २ हजार १ सय रुपैयाँ नगद पुरस्कार .प्रदान गरिएको थियो । धनसिंहपुर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा १९ वटा क्लबको सहभागिता रहेको थियो।










