नेपालगन्ज देशकै धेरै प्रदूषित सहर

नेपालगन्ज औद्योगिक क्षेत्रस्थित प्लाई उद्योग मोडर्न रोज एन्ड उड प्रो प्रालिबाट निस्केको धूवाँको मुस्लो नेपालगन्ज–१० भृकुटीनगरको बस्तीमाथि । फोटो : शंकरप्रसाद खनाल

शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिका-१० भृकुटीनगरका गिरबहादुर गुरुङ छतमा सुकाएको लुगा कालो भएको देख्दा अचम्मित हुन्छन् । गुरुङ यसबारे छिमेकी रामचन्द्र श्रेष्ठलाई सोध्छन्, ‘यो के भएको हो ?’ श्रेष्ठ जवाफ दिन्छन्, ‘औद्योगिक क्षेत्रका उद्योगबाट निस्कने कालो मुस्लोले वातावरण प्रदूषित बनाएको छ ।’ कानुन व्यवसायी विकास आचार्य पनि राति पार्किङमा राखेको गाडीमा बिहान कालो लाग्ने गरेको अनुभव सुनाउँछन् ।
गुरुङ, श्रेष्ठ र आचार्य मात्रै होइन, नेपालगन्ज औद्योगिक क्षेत्र आसपासका बासिन्दा वर्षौंदेखि यस्तै प्रदूषण सहन बाध्य छन् । त्यसो त स्थानीय धनराम ओलीसहित ३३ जनाले त्यसविरुद्ध १ साउन २०७५ मा स्थानीय प्रशासनलाई गुहारे । उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा रिटसमेत दायर गरे । पीडितकै पक्षमा अदालतको आदेश आयो । ‘तर, कार्यान्वयन भएन’, गुरुङ भन्छन् ।
नेपालगन्ज औद्योगिक क्षेत्रका प्रमुख कृष्ण पुनका अनुसार मोर्डन रोज एन्ड उड प्रो प्रालि र रिजवान इन्जिनियरिङले वायु प्रदूषण गरेका छन् । ‘मोडर्न रोजको बोइलरले कालो धुँवाको मुस्लो फाले पनि वातावरण विभागले परीक्षण गर्दा मापदण्डअनुसार धुँवा हानिकारक नभएको भेटिएको छ’, उनी भन्छन्, ‘रिजवानले विभिन्न केमिकल प्रयोग गर्ने भएकाले हानीकारक देखिएकाले हामीले उद्योग नै बन्द गरेका छौं ।’
मोर्डन रोज एन्ड उड प्रो प्रालिका सञ्चालक चम्पालाल बोथराले केही दिन अघि मेरो खुसीसँगको भेटमा उद्योगबाट निस्कने धुँवालाई हानीकारण रहित बनाउने प्रविधि जडान गरेको बताएका थिए । उनी भन्छन्, ‘सुरुमा केही समय धुँवा निस्कन्छ । दिनभरी होइन । यसरी निस्केको धुँवालाई हामीले हानीकारक रहित बनाउन प्रविधि जडान गरेका छौं ।’
वायु प्रदूषणले श्वासप्रश्वास, छाला, आँखा र मुटुरोगीलाई बढी असर पार्ने भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे बताउँछन् । भन्छन्, ‘वायु प्रदुषित क्षेत्रमा लामो समय बस्ने व्यक्तिमा दमको समस्या हुन्छ । आर्सेनिक, लिडजस्ता रसायनबाट निस्कने धूवाँले क्यान्सरकै खतरा पनि हुन सक्छ ।’
विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछानेका अनुसार वायुमा सूक्ष्म कणको मात्रा पार्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा औसत ४० माइक्रोग्राम प्रतिघनमिटरसम्मलाई गुणस्तरीय मानिन्छ । त्योभन्दा बढी स्वास्थ्यका लागि हानिकारक हुने निरीक्षक लामिछाने बताउँछन् ।
तर, नेपालगन्ज ०७५ भदौमा देशकै धेरै प्रदूषित सहरमा दरिएको थियो । त्यति बेला पीएम २.५ को मात्रा १८४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको थियो । विभागले २० कात्तिक २०७५ मा काठमाडौंपछि नेपालगन्जलाई प्रदूषित सहर भनेको थियो । त्यति बेला प्रदूषणको मात्रा ७५.३३ माइक्रोग्राम थियो । काठमाडौंमा ८८.८ माइक्रोग्राम प्रतिघनमिटर थियो ।
नेपालगन्जमा मापदण्डको झन्डै चार गुणा बढी प्रदुषण रहेको विभागको तथ्यांकले देखाउँछ । सन् २०२० डिसेम्बर १७ देखि ३० तारिखसम्म कम्तीमा १ सयदेखि १७२.६० माइक्रोग्रामसम्म मापन गरिएको थियो । सन् २०२१ को मार्च १३ देखि १९ सम्म ७ दिनमा पनि कम्तीमा ६२.७६ देखि बढीमा ७८.१४ माइक्रोग्राम प्रदुषण पाइएको छ ।