पूर्वमन्त्री राईको लगानीमा नेपालगन्जमा खुल्यो दाना उद्योग

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो.इस्तियाक राईले नेपालगन्जमा सञ्चालनमा ल्याएको किसान फिड मिल प्रालि । फोटो : मेरो खुसी

नेपालगन्ज : पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मो.इस्तियाक राई र उनका परिवारका सदस्यको लगानीमा नेपालगन्जमा किसान फिड मिल नामक दाना उद्योग सञ्चालनमा आएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं. २१ बिर्तामा ४० कठ्ठा जग्गामा ६५ करोड रुपैयाँको लागतमा दाना उद्योग खुलेको हो । उद्योगले ब्रोइलर कुखुराको पेलेट दाना, लेयर्स कुखुराको मेस दाना, पशुको केटल दाना र माछाको दाना उत्पादन गरिरहेको छ । प्रति घण्टा १० मेट्रिक टन दाना उत्पादन गर्नसक्ने क्षमता उद्योगको छ । उद्योग परिसरमा ९ हजार मेट्रिक टन दाना भण्डारण गर्नसक्ने गोदाम बनाइएको छ । सञ्चालक राईले २० करोड लगानीमा दाना उद्योगको छेवैमा ७५ हजार कुखुरा क्षमताको रजा ग्रुप्स प्रा.लि. र ४० करोड रुपैयाँको लगानीमा अरहक हेचरी पनि निर्माणाधीन अवस्थामा रहेको बताए । यी तीन वटै कम्पनीमा गरी झन्डै सवा अर्ब रुपैयाँ गानी गरेर दुई हजार स्थानीयलाई रोजगारी दिइने राईले बताए ।
किसान फिड मिल प्रा.लि.को सोमबार संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले उद्घाटन गरे । मन्त्री राईले मासु र अण्डामा देश आत्म निर्भर भइसके पनि खाद्य वस्तुमा आत्मनिर्भर बनाउन किसानका कृषि उपज सरकारले किनेर बजारीकरण गर्नुपर्ने बताए ।