स्व. सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले स्वर्गीय सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ ।
महासंघका पूर्वसभापति तथा राससकर्मी पत्रकार निरज गौतमले आफ्ना स्वर्गीय पिता सूर्यनाथ गौतमको नाममा स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका हुन् । स्व.सूर्यनाथकी धर्मपत्नी सुशीला गौतम सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई अक्षय कोष स्थापनाका लागि नगद १ लाख रुपैयाँ हस्तान्तरण गरेकी हुन् । मुटु रोगका कारण मृत्यु भएपछि श्रीमानको स्मृतिमा कोष स्थापना गरिएको रकम मुद्दती खातामा राखेर र हरेक वर्ष ब्याज रकमबाट पत्रकारलाई पुरस्कृत गरिने गौतममले बताइन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोष रकम वृद्धि गरिने र ५० हजार नगद पुरस्कार सहितको अर्को अक्षय कोष पनि चाँडै घोषणा गरिने बताए ।