३० ग्राम ब्राउन सुगर र १ लाख ८३ हजार नगदसहित ३ जना पक्राउ

नेपालगन्ज : बाँकेमा ३० ग्राम लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्ज शाखा प्रमुख इन्सपेक्टर प्रकाश केसीका अनुसार सोमबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका १० ट्राफिक चोकमा चेकजाँच गर्दा ३५ वर्षकी मुन्नी जोलाहले लगाएको सुइटरको खल्तीबाट लुकाइछिपाइ राखिएको ३० ग्राम ब्राउन सुगर फेला पारेको हो । उनीसँगै रहेकी नेपालगन्ज १६ का ३९ वर्षका कल्लु जोलाह र ३५ वर्षकी जरिना अन्सारीको साथबाट नगद नेपाली रुपैयाँ ७० हजार ५०० नेपाली रुपैयाँ र ७० हजार ३५० भारु गरी जम्मा नेपाली रुपैया एक लाख ८३ हजार ६० रुपैयाँ बरामद भएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।