बाँके निकुञ्जमा बाघ गणनाका २ क्यामरा चोरी र ४ वटा हात्तीले फुटायो, अरु फोटो खिच्न मिल्दैन क्यामरा चोरी नगरौं : विज्ञ

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि राखिएका २ वटा मात्र क्यामरा चोरी भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहका अनुसार निकुञ्जमा जडान गरिएका १६९ वटा क्यामरामध्ये दुई वटा चोरी भएका हुन् । बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई बाघ गणनाको बाँके–बर्दिया कम्प्लेक्स बनाएर ए, बी, सी र डी ब्लकमा बनाएर बाघ गणना भइरहेको छ । ए र बी ब्लक बर्दिया निकुञ्जमा पर्छ । बी ब्लकको एउटा भाग बाँके निकुञ्जमा पनि छ । सी र डी ब्लक बाँके निकुञ्जमा पर्छ । सी ब्लकका ४ वटा क्यामरा जंगली हात्तीले फुटाएको वार्डेन शाहले जानकारी दिए । बाँके निकुञ्जको डी ब्लकमा बाघ गणनाको काम नै सुरु भएको छैन । त्यहाँ १७५ वटा क्यामरा राखेर बाघ गणना हुनेछ ।
बाघ गणनामा प्राविधिक सहयोग गरिरहेको राष्ट्रिय प्रकृृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाका अनुसार बाँके–बर्दिया कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ५३९ क्यामरामध्ये १७ वटा चोरी भएका र ६ वटा जंगली हात्तीले फुटाएको छ । हात्तीले बर्दियामा २ वटा क्यामरा फुटाएको छ ।
‘यो क्यामरा बाघ गणनामा मात्र प्रयोग हुन्छ । मान्छेको वा अरु फोटो खिच्ने काममा प्रयोग हुँदैन’, उनी भन्छन्, ‘क्यामरा चोरी हुँदा बाघ गणनाको काम मात्र विलम्ब हुन्छ । क्यामरा चोरेर बाघ गणनाको काममा बाधा नगरौं ।’
बाघ गणनाको बाँके–बर्दिया कम्प्लेक्स अन्तर्गतको ए ब्लकमा ए ब्लकमा १९१ वटा क्यामरा र बी ब्लकमा १७९ वटा क्यामरा राखेर बाघ गणना गरिएको थियो । बाघ गणनाका लागि राखिएको एउटा क्यामराको मूल्य ४०० डलर परेको छ । ए र बी ब्लकमा बाघ गणनाको काम सम्पन्न भएर तथ्याङ्क प्रशोधनको काम भइरहेको कडरियाले जानकारी दिए । ‘क्यामराले बाघका हजारौं फोटो खिचेको छ । एउटै बाघका धेरै फोटो क्याप्चर भएका हुनसक्छन् । शरीरका दुबै पाटाका फोटो विश्लेषण गरेर बाघको संख्या एकीन हुनेछ’, कडरियाले प्रष्ट पारे । बाँके–बर्दिया कम्प्लेक्समा बाघको संख्या बढेको बाघ सर्वेक्षणमा संलग्न प्राविधिकहरुले जनाएका छन् । बाघको बढेको संख्या भने रिपोर्ट सार्वजनिक भएपछि मात्रै थाहा हुनेछ ।