डुडुवामा ७९ लाखको लागतमा जेष्ठ नागरिक अस्पताल बन्दै

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा जेष्ठ नागरिकका लागि छुट्टै अस्पताल बन्ने भएको छ ।

गाउँपालिकामा बसोबास गर्ने जेष्ठ नागरिकहरुलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नका लागि ७९ लाखको लागतमा १६ सैयाको उपचार केन्द्र सञ्चालन हुने भएको हो । गाउँपालिकाको वडा नं. २ स्थित बेतहानी स्वास्थ्य चौकी प्रांगङमा आठ कोठे अस्पताल भवनको बुधबार एक कार्यक्रमका विच शिलान्यास गरिएको छ । अस्पतालमा ८—८ बेडको महिला र पुरुषका लागि छुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवनको निमार्ण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले भवनको शिलान्यास गर्दै जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखी उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताए । उनले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामाफर्त स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाउदै घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएको बताए ।
तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालि कोहलपुर बाँकेले ठेक्का लिएको छ । वहुवर्षिय योजना अन्र्तगत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निमार्ण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्रको संचालन, दुई वटा एम्बुलेन्स सेवा संचालन गर्दै आएको छ ।