स्प्रिङ डेल स्कुुलद्वारा एसइईका विद्यार्थीलाई मोटिभेसन तालिम

नेपालगन्ज : स्प्रिङ डेल एकेडेमी नेपालगन्जले एसइई परीक्षाको राम्रो तयारीबारे कक्षा १० का विद्यार्थीलाई मोटिभेसन तालिम दिएको छ ।
काठमाडौंबाट मोटिभेसनल स्पिकर प्रितम पौड्याललाई डाकेर एसइईको परीक्षामा राम्रो नम्बर कसरी ल्याउन सकिन्छ भन्ने विषयमा एक दिने तालिम दिएको हो । मोटिभेसनल स्पिकर पौड्यालले भविष्यमा के बन्ने भन्ने विषयमा एसइईपछिको पढाइले निर्धारण गर्ने भएकाले जीवनभर पछुताउन नपर्ने गरी तयारी गर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।
‘सपना देख्दैैमा पूरा हुँदैन । त्यसका लागि लक्ष्य निर्धारण गर्नुपर्छ । लक्ष्य पूरा गर्न योजना बनाउनु पर्छ । पक्कै सफलता मिल्छ’, उनले भने, ‘तपाईहरु कोही कसैभन्दा कम हुनुहुन्न । समय व्यवस्थापन गर्नुस् । आफैलाई अब्बल साबित गरिदिनुस् । त्यसका लागि आजैदेखि योजनाबद्ध रुपमा पढ्न थाल्नुस् ।’
पौड्यालले एसइई परीक्षाको परीक्षाको तयारी गर्दा समय व्यवस्थापन गर्नुपर्ने, समय कम भएकाले अल्छी गर्न नहुने, काम भोलि गर्छु भनेर बाहाना खोजेमा जीवनभर पछुतो गर्नुबाहेक केही नभएको बताए ।
सोही कार्यक्रममा पत्रकार शंकरप्रसाद खनालले विद्यार्थीलाई लेखन सीप कलाबारे प्रशिक्षण दिएका थिए । कति विद्यार्थीले जानेर पनि परीक्षामा लेख्न नसक्ने र कति विद्यार्थीले जानेर पनि राम्रो लेख्न नसक्ने भएकाले परीक्षामा राम्रो उत्तर कसरी लेख्ने भन्ने विषयमा विद्यार्थीलाई सिकाएका थिए । तालिममा स्प्रिङ डेलका कक्षा १० का ४२ जना विद्यार्थीको सहभागिता रहेको थियो । स्प्रिङ डेल स्कुलले यसअघि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसअघि पनि मोटिभेसनल तालिम दिएको थियो ।