मिलेर समृद्ध नेपालगन्ज बनाऔं : उद्योगी व्यवसायी

नेपालगन्ज : ‘नगरमा पाँच वर्षमा के के विकास गर्ने हो ? विज्ञको सहयोग लिएर रोड म्याप बनाउनुस् । नेपालगन्ज उद्योग वाणिज्य संघले कहाँ के सहयोग गर्नुपर्छ । हामी सघाउन तयार छौं’, व्यवसायी वसन्त लामिछानेले नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट, उप प्रमुख कमरुद्दिन राई र २३ वटै वडाध्यक्ष सम्मिलित कार्यक्रममा सुझाव दिए, ‘अघिल्ला जनप्रतिनिधिले कार्यकाल सकिएपछि यो कुरा चाल पाए । तपाईहरुले रोडम्याप बनाउनु भयो समृद्ध नेपालगन्ज बन्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट 

नेपालगन्ज उद्योग वाणिज्य संघले बुधबार नेपालगन्जमा उपमहानगरपालिकाका नवनिर्र्वाचित जनप्रतिनिधिलाई गरेको स्वागत कार्यक्रममा संघका सदस्यसमेत रहेका लामिछानेले दलगत पूर्वाग्रहका आधारमा नभएर जनताको कुरा सुनेर समानुपातिक विकास गर्न सुझाव दिए । वीवी साइकल नेपालगन्जका प्रबन्ध निर्देशक मो.सफिक बागवानले पनि जनप्रतिनिधिले जनताको गुनासो सुन्न सक्नुपर्ने बताए ।
संघका प्रवक्ता टंक धामीले साबिकको मध्य र सुदूरपश्चिमको प्रमुख व्यापारिक नगरी नेपालगन्जलाई क्लिन र ग्रीन सिटीका रुपमा विकास गरेर नमूना सहर बनाउन सुझाव दिए । युवा व्यवसायी विवेक रानाभाटले नगरमा पार्किङको व्यवस्था गर्न र राधा शाहले साना व्यवसायीको समस्या समाधान गर्न सुझाव दिइन् ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले समृद्ध नेपालगन्जका लागि उपमहानगरपालिकासँग सहकार्य गर्न तयार रहेको बताए । उनले भने, ‘यसअघि समृद्ध नेपालगन्जको लागि हामीले गरेको छलफलमा नगर प्रमुखले प्रतिबद्धता जनाइसक्नु भएको छ । हामी सबै मिलेर समृद्ध नेपालगन्ज बनाउने हो । आउनुस् हामी मिलेर काम गरौं ।’
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिले भने समृद्ध नेपालगन्जका लागि नीजि क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नगर प्रमुख प्रशान्त विष्टले नगरमा शिक्षा, स्वास्थ्य, रोजगारी, सरसफाइका विषयमा नगरका उद्योगी व्यवसायीसँग सहकार्य गर्दा मात्र पनि धेरै समस्या हल हुने बताए । उनले भने, ‘नेपालगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्दा मात्रै पनि शिक्षा, स्वास्थ्य, रोजगारी र फोहर व्यवस्थापनको धेरै समस्या हल हुने हामीले देखेका छौं । त्यसैले उद्योगी व्यवसायीलाई निर्णय प्रक्रियामा पुग्ने गरी सहभागी गराउने हाम्रो तयारी छ ।’ नगर प्रमुख विष्टले उपमहानगरपालिकामा विगतमा जस्तो एशियाली विकास बैंकका प्रोजेक्टहरु नभएकाले आन्तरिक स्रोत भने कमजोर रहेको जानकारी दिए । उनले कर नबढाउने तर करको दायरा मात्र फराकिलो गरिने बताए । उनले आग्रह गरे, ‘नगरमा धेरै व्यवसायी करको दायरामा छैनन् । हामी कर बढाउँदैनौं । सबै व्यवसायी करको दायरामा नआउने हो भने नगरको आर्थिक अवस्था विकराल हुनसक्छ । सबैैलाई करको दायरामा ल्याउन हामीलाई संघको सहयोगको खाँचो छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका उप–प्रमुख कमरुद्दिन राईले पनि नेपालगन्जमा के के समस्या छन् ? तिनको समाधान कसरी गर्ने भन्नेबारेमा नीजि क्षेत्रको सुझाव लिने बताए । ‘नेपालगन्जलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने बारेमा तपाईहरुको सुझाव, सल्लाह र सहयोगको खाँचो छ’, उनले प्रष्ट पारे, ‘नेपालगन्जलाई ग्रीन सिटी, सफा र नमूना सहर बनाउन हामी सदैव तपाईहरुको साथ र सहयोगको खाँचो छ ।’

संघका महासचिव चिरञ्जीवी ओलीले समृद्ध नेपालगन्जका लागि निरन्तर रुपमा छलफल जारी राखेको बताए । उनले भने, ‘हामीले विज्ञको सहयोग लिएर समृद्ध नेपालगन्जको आधार तय गरेका छौं । यही विषयमा सरोकारवालाहरुसँग निरन्तर छलफलको यो हाम्रो तेस्रो श्रृङ्खला हो । समृद्ध नेपालगन्ज बनाउन सरोकारवालाले मिलेर काम गर्न जरुरी छ ।’