अफिमको बियाँ टर्कीबाट नेपालहुँदै भारत निर्यात

बाँकेकोे सीमा नाका जमुनाहामा नियन्त्रणमा लिएको भारतीय कन्टेनरको अफिमको बियाँ

नेपालगन्ज : बाँकेको सीमा नाका जमुनाहामा शुक्रबार भारतीय कन्टेनरबाट बरामद गरेको २५० बोरा अफिमको बियाँ (पोस्ता दाना) भएको पुष्टि भएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक माधव रिजालले बरामद गरेको बस्तु अफिम नभएर अफिमको बियाँ मात्र भएको बताए । उनले मेरो खुसीसँग भने, ‘यो अफिमको बियाँ (पोस्ता दाना) हो तर लागूऔषध होइन । यो मसलाको रुपमा प्रयोग हुन्छ । नेपालमा तेस्रो मुलकबाट आयात भए पनि विदेशमा निर्यात गर्न प्रतिबन्ध छ । अवैध रुपमा भारतमा लैजाँदै गरेको अवस्थामा हामीले नियन्त्रणमा लिएका हौं ।’
नेपालमा लामो समयदेखि आयात गर्न प्रतिबन्धित रहेको अफिमको बियाँलाई लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला सुपारी, मरिच, छोकडा जस्तै आयात गर्न २ हजार टन कोटा निर्धारण गरेर झापाका व्यवसायी प्रदीप मित्तलको समूहलाई अनुमति दिइएको थियो । मिठाइमा प्रयोग गर्ने भन्दै युरोपेली मुलुक टर्कीबाट आयात गरिने पोस्ता दाना काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाइ मार्ग र विशाखापट्टनम बन्दरगाह भएर रेलमार्गबाट वीरगंज हुँदै नेपालमा आयात हुन्छ । जुन चोर बाटोबाट अधिकांश भारतमा निर्यात गरिन्छ । टर्कीबाट नेपाल आयात गरेर भारतमा लैजाँदा यसको मोल तेब्बर भन्दा बढी हुने व्यापारीहरु बताउँछन् । भारतमा यसको आयातमा प्रतिबन्ध लगाइएको छ । टर्कीबाट आयात गरेको पोस्ता दाना नेपालको झापा र मोरङमा भण्डारण गरेर भारतको नयाँ दिल्ली, कानपुरलगायतका क्षेत्रमा पु¥याइन्छ । यसबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।