ड्यूटीमा नगई हाजिरी गरेको भन्दै भेरी अस्पतालका डा. नागलाई कार्वाही सिफारिस

नेपालगञ्ज : भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेशकुमार नागले ड्यूटीमा नगई सरकारी तलब सुविधा लिने गरेको खुलासा भएको छ ।
भेरी अस्पताल विकास समितिका अनुसार डा. नाग लामो समय देखि ड्यूटीमा नगई लापरवाही गर्ने गरेका थिए । ‘डाक्टर नागको लापरवाहीका विषयमा गत बर्ष नै समितिले कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो । ’अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले भने ‘तर कुनै सुनुवाई भएन, अहिले असार २० गते अस्पताल प्रशासनमा आएर असार २९ गतेसम्मको हाजिरी अग्रिमरुपमा गरेको पाईएपछि कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको हो ।
साविकको मध्य तथा सुदुरपश्चिमका विभिन्न जिल्लावाट उपचारका लागि विरामीहरु आउने गरेको यस अस्पतालमा कार्यरत अधिकाँस डाक्टर नीजि अस्पताल र क्लिनिकमा समेत काम गर्ने गरेका छन । नीजिमा काम गरेपनि केही डाक्टरहरुले भने आफ्नो न्युनतम ड्यूटी समेत पुरा नगरी विरामीहरु उपचार सुविधावाट बन्चित हुने गरेको गुनासो आउने गरेको छ ।