विपदमा प्राथमिक उपचारबारे नगरवासीलाई तालिम

नेपालगन्ज : प्राकृतिक विपद्मा तालिम प्राप्त व्यक्ति आउनुअघि नै उद्दारकर्ता वा प्राथमिक उपचार समुदायका व्यक्तिबाट हुन्छ । जानेर होस् वा नजानेर वा परम्परागत सीप र क्षमताका आधारमा स्थानीयले यी काम गर्छन् । युरोपियन युनियनको आर्थिक सहयोग तथा युनिसेफ, युएनडीपी र युएनओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले नेपालगन्जमा सञ्चालन गरेको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नगरका वडा नं. ३ र ७ का समुदायको क्षमता अभिवृद्धि गर्न ४ दिने आधारभूत प्राथमिक उपचार तालिम दिएको छ । प्राथमिक उपचारको सिद्धान्त, आपतकालीन अवस्था, रक्तश्राव, मुटु र फोक्सो पुनःसंचालन गर्ने प्रक्रिया (सीपीआर) बेहोसी, गला लाग्नु, घाउ तथा चोटपटक, वातावरणीय समस्या, लु–लाग्नु, हिउँले खानु र घाइतेको ओसारपसार लगायत विषयमा सैद्धान्तिक र व्यहारिक अभ्यासको माध्यमबाट तालिममा सिकाइएको रेडक्रसका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

प्राथमिक उपचार जीवनोपयोगी सीप भएकोले यस्तो तालिम सबैले पाउनुपर्ने सहभागीहरुले माग गरेका छन् । तालिममा २४ जनाको सहभागिता रहेको थियो । रेडक्रस बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, जनसम्पर्क अधिकृत सरिता सिंह, तालिम संयोजक प्रह्लाद विश्वकर्मा, प्राथमिक उपचार प्रशिक्षक सीता वली र शुशील चौधरीले सहजीकरण गरेका थिए ।