सुरु भयो दशैं, बिहान १० : २३ बजे घटस्थापनाको साइत

नेपालगन्ज : नेपाली हिन्दु धर्मालम्वीहरूको सबैभन्दा ठूलो पर्व दशैं सोमबारदेखि सुरु भएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समिति अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार घटस्थापनाको साइत बिहान १०ः२३ बजे रहेको छ । १५ दिनसम्म मनाइने दशैंको पहिलो दिन घरका पूजाकोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । बिहानै नित्य कर्म सकेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले पूजाकोठा वा दसैंघर लिपपोत गरिन्छ। त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। कुल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन्। दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाउने चलन छ।